नेपालमा मिक्सिङ गरिएको पहिलो चलचित्र कुन हो ?
काठमाडौं । नेपाली सिनेमा उद्योगमा थुप्रै रेकर्ड छन् । विभिन्न कालखण्डमा बनेका चलचित्रका नाममा रेकर्डहरू रहेका छन् ।
यस्तै रेकर्डमध्ये एउटा रेकर्ड चलचित्र ‘प्रतीक्षा’को नाममा छ । चलचित्र ‘प्रतीक्षा’ नेपालमा मिक्सिङ गरिएको पहिलो चलचित्र हो ।
यो चलचित्र वि.स. २०५२ असोज १५ गते प्रदर्शन भएको थियो । यसअघि बनेका सिनेमाहरू प्रायः भारतमा सम्पादन र छपाइ गरिन्थ्यो ।
तर, ‘प्रतीक्षा’ पहिलोपटक सम्पूर्ण रूपमा नेपालमै सम्पादन र प्रिन्टिङ गरिएको थियो । यो नेपाली चलचित्र उद्योगका लागि एउटा ऐतिहासिक कोसेढुंगा थियो ।
यो सिनेमाले नेपाली सिनेमा उद्योगलाई प्रविधिमा आत्मनिर्भरतर्फ अघि बढेको संकेत गरेको थियो ।
‘प्रतीक्षा’ले नेपालभित्रै चलचित्र निर्माणको सम्पूर्ण प्रक्रिया सम्भव भएको प्रमाणित गरेको थियो । ‘प्रतीक्षा’ ज्योति फिल्म्स् प्रा.लि. को ब्यानरमा निर्माण भएको थियो ।
यो चलचित्रको कथा, पटकथा, सम्पादन र निर्देशन राजविक्रम शाहले गरेका थिए । निर्मातामा टिपी श्रेष्ठ, एनके श्रीवास्तव र जेडी गुरुङ रहेका थिए ।
यो चलचित्रमा राजेश हमाल, करिष्मा मानन्धर, सम्राट सापकोटा, सावित शाहलगायत कलाकार मुख्य भूमिकामा थिए ।





