‘१२ गाउँ–२’ बाहेक अन्य चलचित्र साइन गरेको छैन, अफवाहको पछि नलाग्नुस् : समीर भट्ट
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा ‘एक्सन स्टार’का रूपमा उदाएका अभिनेता समीर भट्टले आफ्नो आगामी प्रोजेक्टबारे फैलिएका हल्लाहरूको खण्डन गरेका छन् ।
सामाजिक सञ्जालमार्फत एक स्ट्याटस लेख्दै समीरले आफू अहिले पूर्ण रूपमा चलचित्र ‘१२ गाउँ–२’ को तयारीमा केन्द्रित रहेको स्पष्ट पारेका छन् ।
उनले हालसम्म ‘१२ गाउँ’को सिक्वेलबाहेक अन्य कुनै पनि चलचित्रमा सम्झौता (साइन) नगरेको जानकारी दिएका छन् । केही दिन यता विभिन्न सञ्चारमाध्यममा समीरले नयाँ फिल्महरू साइन गरेको भन्दै आएका समाचारप्रति उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
आफ्नो करियरको सुरुवाती चरणमै निकै चर्चा बटुल्न सफल भएका समिरले आधिकारिक पुष्टि बिना समाचार सम्प्रेषण नगर्न मिडियाहरूलाई अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘म अहिले ‘१२ गाउँ २’ को तयारीमा छु । चाँडै हामी छायांकनमा जाने क्रममा छौँ । यो सिनेमाबाहेक मैले अरू कुनै पनि सिनेमा साइन गरेको छैन । भ्रमित समाचारहरू सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु ।’
डेब्यु चलचित्र ‘१२ गाउँ’ बाटै दर्शकबाट मन जित्न सफल भएका समिर अहिले यसको दोस्रो भागका लागि शारीरिक र मानसिक रूपमा तयारी गरिरहेका छन् । फिल्मको स्क्रिप्ट र आफ्नो भूमिकालाई अझ उत्कृष्ट बनाउन उनी व्यस्त रहेकाले छिट्टै छायांकनको मिति तय गरिने बताइएको छ ।
समिरले आफ्ना दर्शक तथा शुभेच्छुकहरूलाई धैर्य रहन र आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न समेत अपिल गरेका छन् ।
विराज भट्टको निर्देशनमा निर्माण भएको ‘१२ गाउँ’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेसँगै यसको सिक्वेललाई लिएर दर्शकमा निकै ठूलो उत्साह छ ।
‘१२ गाउँ’ पछि चलचित्र ‘बलिदान’मा अभिनय गरेका समीरले सोचेअनुरुपको सफलता हासिल गर्न सकेनन् ।
विशेषगरी समीरको एक्सन र स्क्रिन प्रेजेन्सलाई लिएर युवा पुस्तामाझ निकै क्रेज देखिएको छ । ‘१२ गाउँ–२’ मा समिरलाई कुन अवतारमा देख्न पाइने हो भन्ने कौतुहलता उनका फ्यानमा छ ।
आगामी बैशाखको पहिलो साताबाट छायाकंनमा जाने तयारीमा रहेको यो चलचित्रलाई निर्माण पक्षले आगामी वर्ष २०८३ को दशैंमा रिलिज गर्ने लक्ष्य राखेको छ ।


