‘पहाड’लाई प्रिमियरमा तारिफ, डेब्यु अभिनेत्री पञ्चमीको प्रशंसा
काठमाडौं । नेपाली चलचित्र जगतका दिग्गज निर्देशक तुलसी घिमिरे लामो समयपछि आफ्नो नयाँ सिर्जना ‘पहाड’ लिएर दर्शकमाझ आउँदैछन् ।
नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि देशभर प्रदर्शनको तयारीमा रहेको यो सिनेमाको आइतबार कमलपोखरीस्थित बिग मुभिजमा भव्य ‘प्रिमियर शो’ सम्पन्न गरियो ।
प्रिमियरमा वरिष्ठ अभिनेता नीर शाह, सरोज खनाल, शिव श्रेष्ठ, रेजिना उप्रेती, जितु नेपाल, दीपाश्री निरौला, कृष्ण मल्ल, शर्मिला मल्ल, रमेश उप्रेती, किरण केसी लगायत फिल्मकर्मी र रङ्ग पत्रकारको बाक्लै उपस्थिति थियो ।
बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यालाई चित्रण गरिएको चलचित्र ‘पहाड’ हेरेपछि प्रिमियरमा उपस्थित नेपाली चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्वहरूले यसको विषयवस्तु र प्रस्तुतिको उच्च तारिफ गरेका छन् । साथै उनीहरुले कलाकारको अभिनयको प्रसंशा खुलेर गरेका छन् ।
चलचित्र हेरेपछि वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले फिल्मले नेपाली मौलिकतालाई जीवन्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिए । उनले भने, ‘तुलसीजीले सधैँझैँ आफ्नो मौलिक शैलीमा अहिलेको नेपालको जल्दोबल्दो समस्यालाई पर्दामा उतार्नुभएको छ । यो सिनेमाले हामीलाई हाम्रो पहाडको अवस्थासँग साक्षात्कार गराउँछ ।’
त्यस्तै, अभिनेता भुवन केसीले ‘पहाड’लाई ‘कम्प्लिट प्याकेज’ को संज्ञा दिए । घिमिरेसँग चलचित्र ‘कुसुमे रुमाल’मा काम गरेका केसीले भने, ‘सिनेमा हेर्दा कहिले रमाइलो लाग्छ त कहिले कता-कता भावुक बनाउँछ । यो स-परिवार बसेर हेर्नैपर्ने चलचित्र बनेको छ ।’
यस्तै, हास्य कलाकार तथा अभिनेता जीतु नेपालले चलचित्र हेर्दै गर्दा आफूलाई सम्हाल्न गाह्रो भएको र निकै भावुक बनेको बताए । उनले भने, ‘तुलसी सरको आफ्नै सिग्नेचर शैली छ । सिनेमाले खुसी र आँसु दुवैलाई सँगसँगै लैजान्छ ।’ साथै, जीतुले चलचित्रमा पहाडको समस्यालाई निकै गम्भीरताका साथ उठाइएको उल्लेख गर्दै सबैलाई हलसम्म गएर हेर्न आग्रह गरे ।
यस चलचित्रमार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले डेब्यु गरेकी छिन् । प्रिमियरमा उनको अभिनयको विशेष चर्चा भयो । अभिनेता जीतु नेपालले पञ्चमीको प्रशंसा गर्दै भने, ‘मैले सानैमा देखेकी पञ्चमी आज हिरोइन भएर आएकी छिन् । उनले आफ्नो भूमिकामा न्याय गरेकी छिन्, उनको भविष्य उज्ज्वल देखिन्छ ।’
पञ्चमी आफैँले पनि पर्दा पछाडि बसेर काम गर्नु र पर्दा अगाडि देखिनुको अनुभव निकै फरक रहेको बताइन् । उनले भनिन्, ‘आफूलाई पर्दामा हेर्दा छुट्टै अनुभूति हुने रहेछ । अग्रजहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले मलाई थप हौसला मिलेको छ ।’
अभिनेता अरुण क्षेत्रीले तुलसी घिमिरे जस्तो लेजेन्ड निर्देशकको फिल्ममा काम गर्न पाउनु आफ्ना लागि शौभाग्य भएको बताए ।
चलचित्र हेरेपछि निर्देशक दीपाश्री निरौला, दीपक आचार्य, अभिनेता रमेश उप्रेती, किरण केसी लगायतले ‘पहाड’को प्रसंशा गरेका छन् । उनीहरूले चलचित्रले नेपालको वास्तविकता दर्शाएको प्रतिक्रिया दिए ।
‘पहाड’ले विशेष गरी नेपालका पहाडी भेगबाट भइरहेको युवा जनशक्तिको पलायन, रित्तिएका गाउँबस्ती र खानेपानीको विकराल समस्यालाई मुख्य विषय बनाएको छ ।

निर्देशक घिमिरेका अनुसार यो कथा पहाडमा खिचिएको भए पनि यो सिंगो देशकै वर्तमान अवस्थाको प्रतिविम्ब हो । उनले भने, ‘पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो । पहिलो दर्शक बन्नुभएका फिल्मकर्मीमार्फत पाएको प्रतिक्रियाले निकै उत्साहित छु ।’
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ, सुनील थापा र शिव श्रेष्ठसँगै पछिल्लो पुस्ताका चर्चित कलाकार विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, रेनुनाथ योगी, उमा गिरी लगायतको अभिनय छ ।
चलचित्रका निर्माताहरू सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी हुन् । प्रस्तुतकर्तामा उत्तम रसाइली रहेका छन् ।
प्रमोद प्रधानले छायाङ्कन गरेको चलचित्रमा भारती घिमिरे र शंकर कोइरालाको सम्पादन, रञ्जित गजमेरको संगीत, कविराज गहतराज र मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।

