तुलसी घिमिरेको चलचित्र ‘पहाड’ आजबाट हलमा

काठमाडौं । नेपाली चलचित्र जगतका दिग्गज निर्देशक तुलसी घिमिरेको निर्देशन रहेको चलचित्र ‘पहाड’ आजबाट प्रदर्शनमा आएको छ । उत्सहाजनक शो सहित यो सिनेमा आजबाट प्रदर्शनमा आएको हो ।

नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको सिनेमाले सवासय भन्दा धेरै शो पाएको छ । मल्टिप्लेक्समा १२१ शो पाएको सिनेमाले क्यूएफएक्समा ३९ शो पाएको छ । काठमाडौंमा क्यूएफएक्समा १८ र बाहिर २१ शो पाएको छ ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा कलाकार मदनकृष्ण श्रेष्ठ, सुनील थापा, शिव श्रेष्ठसँगै पछिल्लो पुस्ताका चर्चित कलाकार विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, रेनुनाथ योगी, उमा गिरी, पञ्चमी घिमिरेलगायत कलाकारको अभिनय छ ।

चलचित्रका निर्माताहरू सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी हुन् । प्रस्तुतकर्तामा उत्तम रसाइली रहेका छन् ।

प्रमोद प्रधानले छायांकन गरेको चलचित्रमा भारती घिमिरे र शंकर कोइरालाको सम्पादन, रञ्जित गजमेरको संगीत, कविराज गहतराज र मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।