‘पहाड’ बक्सअफिसमा कमजोर, ५ दिनमा ४६ लाख व्यापार
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लेजेन्डरी निर्देशक तुलसी घिमिरे र चल्तीका स्टारहरूको अभिनय रहेको चलचित्र ‘पहाड’ को सुरुवाती व्यापारिक नतिजा निराशाजनक देखिएको छ ।
नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि देशभर प्रदर्शनमा आएको यस फिल्मले बक्स अफिसमा बलियो प्रभाव जमाउन नसकेको तथ्याङ्कले देखाएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो कमाइ विवरणअनुसार फिल्मले प्रदर्शनको पाँचौँ दिन (शनिबार) सम्म कुल ४६ लाख ७६ हजार ६३७ रूपैयाँ मात्रै ग्रस कलेक्सन गरेको छ ।
बोर्डको तथ्याङ्क अनुसार यो अवधिमा देशभरका हलहरूबाट जम्मा १४ हजार ३१८ वटा टिकट मात्र बिक्री भएका छन् । नयाँ वर्षको विदा र सार्वजनिक विदाको समयमा पनि फिल्मले उल्लेख्य दर्शक तान्न नसक्नुलाई चलचित्र वृत्तमा आश्चर्यको रूपमा हेरिएको छ ।
विशेषगरी मदन कृष्ण श्रेष्ठ र विपिन कार्की जस्ता ‘ब्राण्ड’ भएका कलाकारहरू फिल्ममा हुँदा पनि व्यापार ५० लाखको आँकडा काट्न संघर्षरत देखिनुले फिल्मको मेकिङ वा प्रचारप्रसारमा कमजोरी रहेको विश्लेषण गर्न थालिएको छ ।
‘कुसुमे रुमाल’ र ‘दर्पण छायाँ’ जस्ता ब्लकबस्टर फिल्म दिएका निर्देशक तुलसी घिमिरेले लामो समयपछि ‘पहाड’ मार्फत सामाजिक कथालाई पर्दामा उतारेका हुन् ।
फिल्ममा नेपाली फिल्म क्षेत्रका हस्तीहरू मदन कृष्ण श्रेष्ठ, सुनिल थापा, र शिव श्रेष्ठको साथमा वर्तमान समयका भर्सटायल अभिनेता विपिन कार्कीको मुख्य भूमिका छ । यस्तै, रवीन्द्र सिंह बानियाँ, अरूण क्षेत्री र पञ्चमी घिमिरे लगायतका कलाकारहरूको अभिनय छ ।
निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमीलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएकाछन् ।
तर, ठूलो स्टार कास्ट र अनुभवी निर्देशकको टिम भए पनि दर्शकले यसलाई सोचेजस्तो साथ दिएका छैनन् ।
फिल्मले सामाजिक कथावस्तु र पहाडी जनजीवनको परिवेशलाई समेटेको भए पनि समकालीन फिल्म मेकिङको दौडमा यसले युवा पुस्तालाई आकर्षित गर्न नसकेको प्रारम्भिक प्रतिक्रिया प्राप्त भएको छ । नयाँ वर्षमा अन्य फिल्महरूसँगको प्रतिस्पर्धा र कमजोर माउथ पब्लिसिटीले गर्दा पनि फिल्मको व्यापारमा गिरावट आएको अनुमान गरिएको छ ।
हाल दोस्रो हप्तामा प्रवेश गर्ने तयारीमा रहेको यस फिल्मको व्यापारमा आगामी दिनमा कस्तो सुधार आउँछ, त्यो भने हेर्न बाँकी छ । तर, हालसम्मको तथ्याङ्कले भने ‘पहाड’ लगानी उठाउन निकै कठिन मोडमा पुगेको संकेत गर्दछ ।


