‘पहाड’को भन्दा करिब ६ गुणा बढी ‘राम नाम सत्य’को व्यापार
काठमाडौं । नेपाली चलचित्र बजारमा पछिल्लो समय एक्सन स्टार विराज भट्ट र दिग्गज निर्देशक तुलसी घिमिरेका दुई ठूला फिल्मबीच रोचक प्रतिस्पर्धा देखिएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस तथ्याङ्क अनुसार विराज भट्ट अभिनित फिल्म ‘राम नाम सत्य’ ले बक्स अफिसमा बलियो पकड जमाउँदा तुलसी घिमिरेको फिल्म ‘पहाड’ को व्यापार भने निकै कमजोर देखिएको छ ।
पछिल्लो शनिबारसम्मको रिपोर्ट अनुसार ‘राम नाम सत्य’ ले देशभरबाट २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । एक्सन जनरामा निर्माण भएको यो फिल्मले विराज भट्टका फ्यानहरूलाई हलसम्म तान्न सफल भएको देखिन्छ ।
फिल्म विकास बोर्डको तथ्याङ्क अनुसार सोही अवधिसम्म यस फिल्मका कूल ९७ हजार २०५ वटा टिकट बिक्री भएका छन् ।
माइकल चन्दले निर्देशन गरेको यो फिल्मको व्यापारले नेपाली फिल्म क्षेत्रमा अझै पनि ‘मास’ दर्शकमाझ एक्सन फिल्मको क्रेज कायमै रहेको पुष्टि गरेको छ ।
अर्कातर्फ, ‘कुसुमे रुमाल’ र ‘चिनो’ जस्ता ऐतिहासिक सफल फिल्म दिएका निर्देशक तुलसी घिमिरेको पछिल्लो फिल्म ‘पहाड’ ले भने बक्स अफिसमा अपेक्षा अनुसारको जादु देखाउन सकेको छैन । शनिबारसम्मको विवरण अनुसार यो फिल्मले जम्मा ४६ लाख ७६ हजार ६३७ रुपैयाँ मात्र ग्रस कमाइ गरेको छ ।
फिल्मको दर्शक संख्या पनि निराशाजनक देखिएको छ । बोर्डको तथ्याङ्क अनुसार ‘पहाड’ हेर्न देशभरका हलमा जम्मा १४ हजार ३१८ जना दर्शक मात्र पुगेका छन् । लामो समयपछि निर्देशनमा फर्किएका घिमिरेको फिल्मले समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाए तापनि व्यापारिक रूपमा भने ठूलो घाटा व्यहोर्ने देखिएको छ ।
विकास बोर्डले केन्द्रीय बक्स अफिस प्रणालीबाट प्राप्त वास्तविक तथ्याङ्क सार्वजनिक गरेको हो । यी दुवै फिल्मको व्यापारलाई तुलना गर्दा विराज भट्टको फिल्म ‘राम नाम सत्य’ ले तुलसी घिमिरेको ‘पहाड’ भन्दा करिब ६ गुणा बढी व्यापार गरेको देखिन्छ ।
तर, ‘राम नाम सत्य’ चैत २४ गते रिलिज हुँदा ‘पहाड’ वैशाख १ गतेबाट रिलिज भएको थियो । ‘राम नाम’ सत्यभन्दा ‘पहाड’ चार दिन पछि रिलिज भएको हो ।
पछिल्लो समय नेपाली दर्शकको रुचि एक्सन र मसला मुभीमा बढी देखिएका कारण पनि विराजको फिल्मले अग्रता लिएको विश्लेषण गरिएको छ । यद्यपि, दुवै फिल्मले प्राप्त गरेको यो आँकडा आगामी हप्ता कस्तो रहन्छ, त्यो भने हेर्न बाँकी नै छ ।


