आयुषजी अनि विदेशमा रहेका नेपालीले कति हल बुक गरिदिए त, कि बाँकी छ ?
काठमाडौं । यतिबेला हलमा ‘राम नाम सत्य’ प्रदर्शन भइरहेको छ । चैत २७ गतेबाट हलमा छ । करिब पाँच करोड लगानी रहेको भनिएको सिनेमाको सिक्वेल अथवा ‘राम नाम सत्य–२’ पनि निर्माण टिमले घोषणा गरिसकेको छ ।
‘राम नाम सत्य–२’ आफू मुख्य भूमिकामा रहेको यसका कलाकारसमेत रहेका टिकटकर आयुष सिंह ठकुरीले बताइसकेका छन् । सिनेमालाई लिएर निकै उत्साहित रहेका उनले ‘राम नाम सत्य’को रिलिजअगाडि प्रचारप्रसारका क्रममा एउटा तीतो सत्य उजागर गरे । जुन सिनेमा इन्डस्ट्रीभित्र धेरैलाई थाहा भएको तर बाहिर लुकाउँदै आएको कुरा थियो ।
लोकप्रिय टिकटकर आयुषका लाखौँ फलोअर्स छन्, टिकटकमा । त्यसैले आयुषलाई दर्शक हलसम्म तान्ने चुनौती थियो । यो उनी स्वयंले पनि महसुस गरिरहेका थिए ।
त्यसैले उनले विदेशमा रहेका आफ्ना शुभचिन्तकले ‘राम नाम सत्य’को हल बुक गरिदिने बताएको जानकारी दिए । “विदेशमा बस्ने धेरै नेपालीले पनि नेपालमा रहेका आफन्त र साथीभाइका लागि टिकट खरिद गरिदिने, हल बुक गरिदिने भन्नुभएको छ,” उनले भनेका थिए । आयुषजी उत्साहित हुनु ठिक हो, आफूले काम गरेको सिनेमाप्रति उत्साहित पनि हुनुपर्छ । तर, कहाँ कति बोल्ने र के बोल्ने, के नबोल्ने भन्ने चाहिँ कम्तीतमा ज्ञान राख्नु पर्छ कि ?
उनले सोही प्रचारका क्रममा भनेका थिए, “दर्शक फिल्मप्रति नै उत्साहित रहेको पाएको छु । राम नाम सत्यको सिक्वेल पनि बन्दै छ । सिक्वेलमा मेरो भूमिका के हुन्छ भन्ने वुझ्नका लागि पनि दर्शकले यो चलचित्र हेर्नु पर्छ ।”
उनले सोही प्रचारका क्रममा अब नेपाली चलचित्रमा निरन्तर काम गर्ने बताएका थिए ।
‘राम नाम सत्य’बाट उत्साहित रहेका आयुष उनले भनेका थिए, “यो चलचित्रको कथावस्तु मन परेका कारण नै मैले काम गरेको हुँ । मलाई धेरै फिल्मको अफर नआएको होइन । तर, राम नाम सत्यको कथाले तान्यो र काम गर्न तयार भएँ ।”
माइकल चन्दको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘राम नाम सत्य’बाट आयुषले सिनेमामा डेब्यु सिनेमा हो । ‘राम नाम सत्य’मा आयुषसँगै विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय छ ।

