तीन करोड पारपछि किन सुस्तायो ‘राम नाम सत्य’को गति ?

काठमाडौं । नेपाली बक्स अफिसमा आक्रामक सुरुवात गरेको एक्सन जनराको फिल्म ‘राम नाम सत्य’ को व्यावसायिक रफ्तारमा अचानक पूर्णविराम लागेको छ । ३ करोडको आँकडा पार गरेलगत्तै फिल्मको व्यापारमा भारी गिरावट आएको छ । पछिल्लो साताको तथ्याङ्क हेर्दा फिल्मको व्यापार निराशाजनक देखिएको छ ।

गत चैत २७ गतेबाट देशभर प्रदर्शनमा आएको ‘राम नाम सत्य’ ले सुरुवाती दिनमा दर्शकको राम्रो साथ पाएको थियो । फिल्मले वैशाख ५ गतेसम्म अर्थात् प्रदर्शनको पहिलो १० दिनमा २ करोड ७८ लाख १८ हजार रूपैयाँको सानदार व्यापार गरेको थियो ।
त्यसपछिको एक साता पनि फिल्मले आफ्नो साख जोगाइराख्यो ।

वैशाख १२ गतेसम्म आइपुग्दा फिल्मको कुल कमाइ ३ करोड ३१ लाख ५८ हजार पुग्यो । उक्त साता मात्रै फिल्मले ५३ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेर आफूलाई ‘हिट’ को सूचीमा सुरक्षित गरेको थियो । तर, वैशाख १२ देखि १९ गतेसम्मको पछिल्लो सात दिनमा भने फिल्मले जम्मा ८ लाख १५ हजार रुपैयाँ मात्र थप गर्न सक्यो । वैशाख १९ सम्म फिल्मको कुल कलेक्सन ३ करोड ३९ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

यो चलचित्रले हालसम्म ६ करोड ८३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यसमा ३ करोड ९८ लाख घरेलु बक्सअफिसबाट र बाँकी २ करोड ८५ लाख ओभरसिज मार्केटबाट कलेक्सन गरेको निर्माणपक्षले जनाएको छ ।

नयाँ फिल्मले आक्रामक व्यापार गरेपछि देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिनहरूले ‘राम नाम सत्य’ को सो कटौती गरेर नयाँ फिल्मलाई उपलब्ध गराए । दर्शकले हेर्न चाहे पनि पायक पर्ने समयमा फिल्म उपलब्ध नहुनु व्यापार घट्नुको प्राविधिक कारण मानिएको छ ।

प्रायः एक्सन फिल्महरू सुरुवाती दिनमा युवा दर्शकका कारण ‘हाइप’ मा हुन्छन् । तर, फिल्मलाई लामो समय टिकाउन ‘पारिवारिक दर्शक’ को आवश्यकता पर्छ । ‘राम नाम सत्य’ ले सुरुवाती दुई हप्ता युवा वर्गलाई आकर्षित गरे पनि पछिल्लो समय पारिवारिक दर्शकलाई हलसम्म तान्न नसकेको देखिन्छ ।

‘राम नाम सत्य’ को बक्स अफिस यात्रा अब अन्तिम चरणमा पुगेको संकेत मिलेको छ । ६ करोड ८३ लाखको व्यापार नेपाली चलचित्रको हकमा सफल मानिए पनि अब यसले फेरि पुरानै लयमा कमब्याक गर्ने सम्भावना निकै कम छ । यो चलचित्र तीन करोड लगानीमा बनेको निर्माण टिमले दाबी गर्दै आएको छ । लगानीको हिसाबले भने यो कलेक्सन राम्रो होइन ।