‘राम नाम सत्य’का निर्माता भन्छन्– हामी सुरक्षित हुने बाटोमा छौँ
काठमाडौं । चलचित्र ‘राम नाम सत्य’का निर्माताले आफू आर्थिक रुपमा सुरक्षित हुने बाटोमा रहेको बताएका छन् । फिल्मको व्यापारबाट उत्साहित भएको निर्माणपक्षले बताएको छ ।
चैत २७ गतेबाट रिलिजमा आएको चलचित्र ‘राम नाम सत्य’ले बक्सअफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले बताएका छन् ।
शनिबारसम्म विकास बोर्डको आँकडामा फिल्मको कमाई करिब २ करोड ८० लाख थियो । तर, केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने व्यापार केही माथि भएको वितरक शाहीको भनाइ छ ।
यो फिल्मले अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले बताए । अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ तारिखबाट यो फिल्म २०० शोज सहित चल्दैछ ।
निर्माणपक्षले अमेरिकामा फिल्मलाई शेयर प्रतिशतमा विक्री गरेको हो । अमेरिकाबाट पनि फिल्मका निर्माताले राम्रो रकम प्राप्त गर्ने अपेक्षा गरेका छन् ।
ओएसआर डिटिजलबाट फिल्मलाई ७२ लाख रुपैयाँ प्राप्त भएको जानकारी निर्देशक माइकल चन्दले दिएका छन् । डिजिटल राइट्स ७२ लाखमा विक्री गरेकाले पनि निर्माणपक्षलाई फाइदा भएको देखिन्छ ।
यो फिल्मबाट आफूहरु सुरक्षित हुने बाटोमा लागेको निर्देशक चन्दको भनाइ छ ।
स्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा तयार भएको यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंंह ठकुरी, खुशी कार्की, सुनील थापा, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ ।
पछिल्लो समयमा रिलिज भएका नेपाली फिल्महरुले व्यापार सुखद नगरिरहेको समयमा यो फिल्मले भने बक्स अफिसमा आशा जगाएको छ ।


