९७ हजार जना दर्शकले ‘राम नाम सत्य’ हेर्दा व्यापार कति ?
काठमाडौं । गत वर्षको अन्तिम शुक्रबार अर्थात् चैत २७ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘राम नाम सत्य’ ले घरेलु बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको यो चलचित्रले दर्शकको राम्रो साथ पाएको तथ्याङ्कले देखाएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार गत शनिबारसम्म यो चलचित्रले २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
यस चलचित्रलाई शनिबारसम्म ९७ हजार २०५ जना दर्शकले हेरेका छन् ।
करिब तीन करोड लगानी रहेको भनिएको सिनेमाको सिक्वेल ‘राम नाम सत्य–२’ पनि निर्माण टिमले घोषणा गरिसकेको छ ।
एक्सन र सामाजिक विषयवस्तुको समिश्रण रहेको यस चलचित्रलाई माइकल चन्दले निर्देशन गरेका हुन् । चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, सुनिल थापा, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ ।
नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा रिलिज हुनु र बिदाको समय पर्नुले पनि चलचित्रको व्यापारमा सकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ । हाल यो चलचित्र देशका विभिन्न हलहरूमा प्रदर्शनरत छ र आगामी दिनमा यसको कमाइ अझै बढ्ने अपेक्षा गरिएको छ।

