‘रोल नं १’ को टिजर सार्वजनिक, के छ कथा ?
काठमाडौं । निर्माता विनोद पौडेलको निर्माणमा बनेको चलचित्र ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ ।
निर्माणपक्षले बिहीबार युट्युबमार्फत सार्वजनिक गरेको टिजरले चलचित्रको मूल भावनात्मक कथा र सामाजिक यथार्थलाई झल्काउने संकेत दिएको छ । टिजरमा ‘मौसमजस्तै छिनछिनमै खोसिने आम मान्छेको सपना र भरोसा’ भन्ने भावलाई केन्द्रमा राखिएको देखिन्छ । यसले जीवनमा स्थिरता नहुने, आकस्मिक परिवर्तनले सामान्य मानिसको सपना र विश्वास कसरी प्रभावित हुन्छ भन्ने विषयलाई प्रस्तुत गरेको अनुमान गर्न सकिन्छ ।
बाबुले आफ्नो भाग त्यागेर छोराको खुसीका लागि देख्ने सपना र त्यो सपना पूरा नहुँदाको पीडा टिजरमा मार्मिक रूपमा देखाइएको छ।
छात्रवृत्तिमा निर्भर रहनुपर्ने बाध्यता र त्यसबाट वञ्चित हुँदा उत्पन्न हुने निराशालाई पनि टिजरले समेटेको छ । समाजमा इज्जत कायम राख्न पढाइमा अब्बल हुनुपर्ने दबाबबीच सरकारी छात्रवृत्तिबाट वञ्चित भइरहेका आम नागरिकको यथार्थलाई यसले उजागर गरेको छ । कक्षामा प्रथम हुनैपर्ने सरकारी मापदण्डले गरिब तथा निम्न आय वर्गका विद्यार्थीहरू कसरी शिक्षाबाट टाढा भइरहेका छन् भन्ने तीतो सत्यलाई टिजरले प्रस्तुत गर्ने प्रयास गरेको छ । परिवारले आफ्ना अधुरा इच्छा, आकांक्षा र भरोसा सन्तानमा थोपर्ने र त्यसलाई पूरा गर्न नसक्दा बालमनोविज्ञानमा पर्ने असरलाई पनि टिजरले देखाएको छ ।
टिजरले यो चलचित्रले अधिकांश गरिब नेपालीको कथा भन्ने संकेत गरेको छ । ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्माता पौडेलको चलचित्र ‘रोल नं १’ ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटिएको छ । ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञान, वर्तमान शैक्षिक प्रणालीका चुनौती र त्यसले बालबालिकाको जीवनमा पार्ने प्रभावलाई केन्द्रमा राखेको निर्माणपक्षले जनाएको छ ।
जोन योञ्जनको निर्देशनमा बनेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बालकलाकारहरूमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन् ।
चलचित्रका लेखक महेश दवाडी हुन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रका सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।
हिमाली जिल्ला म्याग्दी जिल्लाका विभिन्न रमणीय तथा ग्रामीण क्षेत्रमा छायांकन गरिएको चलचित्रका डीओपी शिव राम श्रेष्ठ हुन् ।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको पृष्ठभूमि संगीत (बीजीएम), फिरोद खड्का चिफ एडी, कला संग्रौलाको प्रोडक्सन डिजाइन र मनोज जोशी प्रोडक्सन हेड रहेका छन् । सम्पादन मदन घिमिरेले गरेका हुन् ।
‘रोल नं १’ आगामी जेठ १५ गते, गणतन्त्र दिवसका अवसरमा प्रदर्शनमा आउनेछ । निर्माणपक्षका अनुसार चलचित्र नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ । वितरणको जिम्मा रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले लिएका छन् ।




