पलको ‘आ बाट आमा २’को शुभमुर्हूत

काठमाडौं । पल शाहको मुख्य भूमिका रहने चलचित्र ‘आ आमा २’को शुभमुर्हूत गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा फिल्मको शुभुमूर्हत गरेको हो ।

सोमबार पारेर निर्माण टिमले फिल्मको स्क्रिप्ट पूजा गर्दै कामलाई अगाडी बढाएको हो । अघिल्लो वर्षको सुपरहिट फिल्म ‘आ बाट आमा’कै सिक्वेल हो यो । यसै फिल्मका केही कलाकारहरु भाग २ मा पनि निरन्तरता पाएका छन् ।

अघिल्ला फिल्मका कलाकार विपना थापा, पल शाह, प्रदीप रावत, गजित बिष्टलगायत कलाकारहरु दोहोरिएका छन् ।

आकाश श्रेष्ठ, नरेन खड्का पनि यो पटक जोडिएका छन् । यस फिल्ममा अभिनेत्रीहरु भने छनोट हुन बाँकी छ । साथै अन्य कलाकारहरु छनोटको काम भइरहेको निर्देशक चन्द्र पन्तले बताए ।

निर्माण टिमले एक महिनाअघिबाट नै यो चलचित्र आगामी दसैंमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो । निर्देशक पन्तले यो फिल्म दसैंमा नै हलमा लाग्ने जानकारी दिए ।

कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ । यस फिल्मको वितरण आरआर फिल्मसले गर्दै छ । डिजिटल अधिकार ओएसआरले लिएको छ । आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् ।