‘मितज्यू’लाई दर्शकको सकारात्मक प्रतिक्रिया, बिहानभन्दा बेलुकाको शोमा अकुपेन्सी धेरै

काठमाडौं । चलचित्र ‘मितज्यू’ले दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले दर्शकको साकारात्मक प्रतिक्रिया पाएको हो ।

स्टार अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल तथा डान्सर तेरिया मगर मुख्य भूमिकामा रहेको चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको हो । निर्देशक तथा कलाकार हलमा पुग्दा दर्शकले सिनेमाको तारिफ गरेका थिए ।

कलाकारको अभिनय र कथाको दर्शकले तारिफ गरेका हुन् । गाउँले जीवनको कथा र प्रस्तुतिलाई दर्शकले मन पराएको निर्देशक अनिल बुढा मगरले जानकारी दिए । “हामी जति पनि हलमा पुग्यौँ, दर्शकले मन प¥यो भनेर तारिफ गरिरहनु भएको छ,” उनले भने, “आफैँले गाउँमा छँदा देखेको कथा भन्नु भएको छ भनेर दर्शकले भनिरहनु भएको छ ।”

बिहानभन्दा बेलुका सिनेमामा दर्शकको अकुपेन्सी बढेको भन्दै शनिबारबाट दर्शक थप बढ्ने उनको विश्वास छ । तेरियाको डेब्यु सिनेमा भए पनि दर्शकले मन पराइरहेको उनले जानकारी दिए ।

दयाहाङ र सौगातसँगै ‘मितज्यू’को मुख्य भूमिकामा तेरिया मगर छिन्, जो आफैँमा कुशल नृत्यमार्फत सारा भारत वर्षलाई मोहित बनाउने नृत्यंगना हुन् । उनको यो डेब्यु सिनेमा हो । ट्रेलरमा देखिएको उनको अभिनयले यतिबेला दर्शकको ध्यान खिचिरहेको छ ।

चलचित्र ‘मितज्यू’मा अभिनेताद्वय सौगात मल्ल, दयाहाङ राई र तेरिया मगरसँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।

जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ ।