तेरियाले भनिन्– सोचेजस्तै प्रतिक्रिया पाएँ, उमेर ग्यापको समस्याका लागि ‘मितिज्यू’ हेर्न आग्रह
काठमाडौं । चलचित्र ‘मितिज्यू’ फ्रेम्ड अभिनेत्री तेरिया फौजा मगरले आफूले अपेक्षा गरेजस्तै प्रतिक्रिया दर्शकबाट पाउन थालेको बताएकी छन् । सुरुको दिनमा सोचेजस्तो प्रतिक्रिया न्यून पाए पनि शनिबार भने अधिकांश दर्शकले आफूले अपेक्षा गरेजस्तै प्रतिक्रिया पाएको उनले बताएकी छन् ।
“चलचित्रमा महिला इम्पावरमेन्टको कुरा पनि छ । यो विषयमा पक्कै पनि प्रतिक्रिया आउला भन्ने लागेको थियो । शुक्रबार खासै यो कुरा आएन,” दर्शक भेट्न हलमा पुगेकी तेरियाले भनिन्, “तर, शनिबार भने धेरै दर्शकले तपाईंको भूमिकाले महिला इम्पावरमेन्टको विषय पनि उठान गरेको रहेछ भन्ने प्रतिक्रिया आयो । यो मैले अपेक्षा गरेको विषय थियो ।”
उनले चलचित्र ‘मितज्यू’मा उमेरको ग्यापले उत्पन्न समस्यालाई देखाएको बताइन् । श्रीमान् र श्रीमतीबीचको उमेर ग्याप हुँदा के कस्ता समस्या देखिन्छन् भन्ने विषय चलचित्रमा रहेको उनको भनाइ छ ।
“हाम्रो उमेरमा ठूलो ग्याप छ । यो उमेरको ग्यापले सोच र विचरमा हुने फरकले कस्तो असर गर्छ भन्ने देखाएको छ,” तेरियाले भनिन्, “सोच विचारमै फरक भएपछि कसरी त्यसले सम्बन्धमा असर गर्छ भन्ने देखाइएको छ ।”
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर मुख्य भूमिका छन् । तेरियाको यो डेब्यू सिनेमा हो ।
गाउँले परिवेशमा मित्रता, त्याग र समाजभित्रका आन्तरिक सङ्घर्षहरूको जीवन्त चित्रण यस चलचित्रको मुख्य आकर्षण हो ।
यो चलचित्रमा सौगात, दयाहाङ र तेरियासँगै खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘मितज्यू’का लगानीकर्ता जनक घर्तीमगर हुन् ।
चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ ।
यस चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गरेको छ ।




