फ्राइडे रिलिज : आजबाट हलमा ‘रोल नं १’, ‘कुम्भ’ र ‘सेप अफ मोमो’
काठमाडौं । नेपाली चलचित्र बजारमा ‘फ्राइडे रिलिज’को परम्परालाई पछ्याउँदै आज (शुक्रबार) बाट तीनवटा नयाँ चलचित्र प्रदर्शनमा आएका छन् ।
फरक–फरक जनरा र विषयवस्तुमा निर्माण भएका ‘रोल नं १’, ‘कुम्भ’ र ‘सेप अफ मोमो’ ले आजबाट देशभरका सिनेमा हलहरूमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका हुन् ।
जोन योञ्जनको निर्देशनमा तयार भएको ‘रोल नं १’ लाई सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले युनिभर्सल सर्टिफिकेट दिएको छ । युनिभर्सल सर्टिफिकेट पाएसँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् ।
‘रोल नं १’ २ घण्टा ३२ मिनेट लामो सिनेमा रहेको सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सर्टिफाई गरेको सर्टिफिकेटमा उल्लेख छ ।
जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले सिनेमालाई ग्रेडिङ गर्ने क्रममा चलचित्रको खुलेर तारिफ गरेको निर्माण टिमले बताएको छ । कमिटीले सिनेमाको तारिफ गरेपछि निर्माण टिम उत्साहित छ ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन् ।
यस्तै, आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ’ आजैबाट प्रदर्शनमा आएको छ । एक्सनलाई प्राथमिकता दिइएको यस चलचित्रमा रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ ।
चलचित्रमा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ लगायत कलाकारहरूको अभिनय रहेको छ ।
निर्देशक श्रेष्ठकै छायांकन र सम्पादन रहेको चलचित्रमा सम्राट बस्नेत, प्रदीप खड्का (भारत), सञ्जय थापा र कुमार महर्जनको एक्सन निर्देशन रहेको छ भने कोरियोग्राफी रोबर्ट सिंहले गरेका छन् ।
यसैगरी, सिक्किमकी युवा निर्देशक त्रिवेणी राईको डेब्यु फिचर चलचित्र ‘सेप अफ मोमो’ आजैबाट प्रदर्शनमा आएको छ ।
डल्ली खोरसानी प्रोडक्सनको निर्माण तथा कथकला फिल्म्सको सह–निर्माणमा बनेको फिल्मले सिक्किमको हिमाली गाउँको पृष्ठभूमिमा एउटै परिवारका तीन पुस्ताका महिलाको जीवन, सम्बन्ध, मौनता, भावनात्मक विरासत र पहिचानको कथा प्रस्तुत गर्छ। फिल्मले ‘घर’ भन्ने भावनात्मक अवधारणालाई समेत गहिराइमा नियाल्ने प्रयास गरेको बताइएको छ ।
चलचित्रमा स्वर्गीय भानु माया राई, गौमाया गुरुङ, पशुपति राई, राहुल मुखिया र श्यामाश्री शेर्पाको अभिनय रहेको छ । निर्देशनसँगै त्रिवेणी राईले किस्ले राईसँग मिलेर पटकथा लेखेकी हुन् ।
छायांकन अर्चना घाङ्ग्रेकरले गरेकी छन् भने सम्पादन अनिल आलायम र किस्लेले गरेका छन् ।
भारतीय अभिनेता तथा निर्माता राना दगुबत्तीको को स्प्रिट मिडियाले फिल्मको प्रदर्शनमा सहयोग गरिरहेको छ ।
चलचित्रमा भारतीय फिल्मकर्मी जोया अख्तर, रिमा काग्ती, र पायल कपाडीया कार्यकारी निर्माताको रूपमा छन् ।
यो चलचित्र ‘बुसान इन्टरनेशनल फिल्म फेस्टिभल र सन सेबेस्टियन इन्टरनेसनल फिल्म फेस्टिभललगायत प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रदर्शन भइसकेको छ । ती महोत्सवमा फिल्मले पुरस्कारसँगै प्रशंसासमेत पाएको छ ।
एउटा पारिवारिक ड्रामा रोल नं १, अर्को अन्तर्राष्ट्रिय स्तरमा चम्किएको आर्ट फिल्म (सेप अफ मोमो) र अर्को कमर्सियल एक्सन फिल्म (कुम्भ) रहेकाले दर्शकले आफ्नो रुचि अनुसारको चलचित्र छनोट गर्ने अवसर पाएका छन् ।
यी तीनै चलचित्रले हलमा कस्तो व्यापार गर्नेछन्, त्यसको प्रारम्भिक नतिजा अकुपेन्सीले देखाउनेछ ।


