जीतुलाई वितरकले भने– टिकट किन्न पैसा ठिक पार्दै गर्नु

काठमाडौं । चलचित्र ‘आई एम जीतबहादुर’ रिलिजको संघारमा आइपुग्दा यसका मुख्य कलाकार तथा निर्माता जीतु नेपालले गुनासो गर्न थालेका छन् । पछिल्लो समय निर्माताले आफैँ टिकट काट्नुपर्ने प्रवृत्ति विकास भएकोमा उनले गुनासो गरेका हुन् ।

“मलाई वितरकले दाइ टिकट काट्नुपर्छ, पैसा ठिक पार्नुस् है भनिसक्नुभयो । मैले त दुःख गरेर सिनेमा बनाएँ, अब टिकट काट्ने पैसा म सँग छैन,” जीतु भन्छन्, “टिकट काटेर मात्रै भएन । फिल्म हेर्ने मान्छे पनि खोज्नुपर्यो । उनीहरूले चलचित्र राम्रो छ भनेर पनि भनिदिनुपर्यो ।”

जीतुले निर्माताले टिकट पनि काट्ने चलन गलत भएको र यो हटाउनुपर्नेमा उनको जोड छ । उनले भने, “यसरी चलचित्र बनाउँदा कलाकार र प्राविधिकले त काम पाउलान् । तर निर्माताले यसरी कहिलेसम्म सिनेमा बनाउन सक्छ ?”

अब चलचित्रका मुख्य कलाकार सेयरमा बस्नुपर्ने उनको धारणा छ । पछिल्लो समय निर्माताले नै टिकट काटेर शो टिकाउनु पर्ने बाध्यता रहेको छ ।

जीतु निर्माता र हिरो भएको सिनेमा ‘आई एम जित बहादुर’ असार ५ गतेबाट रिलिज हुँदैछ ।

बंगाली निर्देशक सुभेन्दु घोषले यो चलचित्र निर्देशन गरेका छन् । यो चलचित्रमा प्रियंका कार्की र वर्षा राउतको पनि अभिनय छ ।