पशुपति शर्मा अब चलचित्रको हिरो
काठमाडौं । चर्चित लोक गायक पशुपति शर्मा अब सिनेमाको हिरो बन्ने पक्का भएको छ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्रमा गायक शर्माले मुख्य भूमिकामा अभिनय गर्ने भएका हुन् ।
चलचित्रको नाम भने हाललाई गोप्य राखिएको छ ।
प्राप्त जानकारीअनुसार चलचित्रका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन् । निर्माता रघुनाथ सापकोटा रहेका छन् । चलचित्र आगामी असारको दोस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको छ ।
लोकदोहोरी गायनमार्फत नेपाली दर्शकमाझ लोकप्रियता हासिल गरेका पशुपति शर्माले अब चलचित्रमार्फत पनि आफ्नो क्षमता प्रस्तुत गर्ने भएका हुन् ।
गायन क्षेत्रमा जस्तै अभिनयमा पनि पशुपति शर्माले दर्शकको मन जित्न सफल हुने अपेक्षा गरिएको छ ।


