सिनेमा डेब्युबारे पशुपति शर्माः मेरो ढंग केही छैन, नखेलाए हुन्थ्यो भनेको थिएँ
काठमाडौं । चर्चित लोकगायक पशुपति शर्माले आफूले चलचित्र अभिनयको प्रस्ताव सुरूमा अस्वीकार गर्न खोजेको बताएका छन् । आफूमा अभिनय गर्ने आत्मविश्वास नभएकाले सुरूमा निर्माण टिमलाई आफूभन्दा राम्रो कलाकार खोज्न सुझाव दिएको उनले बताएका हुन् ।
हालै मिडियाकर्मीसँगको कुराकानीमा पशुपतिले केही चरणको छलफलपछि मात्रै आफू अभिनयका लागि राजी भएको बताए ।
पशुपतिका अनुसार उनले सुरूमा चलचित्रमा अभिनय गर्ने कल्पनासमेत गरेका थिएनन् । उनले भने, ‘मैले कल्पना पनि नगरेको । मैले खेल्छु भन्ने मनोभाव पनि नआएको । अल्छि नै गरेको थिएँ । सकेसम्म नखेलौँ कि, मभन्दा अझ राम्रो अभिनय गर्ने साथीहरू ल्याउनुहोला । मेरो ढंग केही पनि छैन । म बिना ढंग नै यो क्षेत्रमा लागेँ, बिना ढंग यहाँसम्म चलेको छु । मेरो ढंग केही छैन, सकेसम्म नखेलाए हुन्थ्यो कि भन्ने भाव पनि व्यक्त गरेको थिएँ ।’
तर निर्माण टिमले निरन्तर विश्वास व्यक्त गरेपछि आफ्नो सोच बदलिएको उनले बताए । ‘उहाँहरूले ‘तपाईंले हुन्छ मात्रै भन्नुस्, अरू व्यवस्था हामी गर्छौं’ भन्नुभयो,’ पशुपतिले भने, ‘निर्माता–निर्देशकको बोल्ने शैली र व्यवहार सबै हेरेपछि, यो टिममा मलाई सिकाएपछि केही गर्न सक्छु कि भन्ने हिसाबले धेरैपछि मानेको हो, राजी भएको हो ।’
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्रमार्फत पशुपतिले अभिनय यात्रा सुरू गर्न लागेका हुन् । चलचित्रका लेखक तथा निर्देशक अमरदीप सापकोटा र निर्माता रघुनाथ सापकोटा हुन् । निर्माण पक्षले यसअघि नै पशुपतिलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी सार्वजनिक गरिसकेको थियो ।
चलचित्रको नाम भने अझै घोषणा गरिएको छैन । बुझिएअनुसार सिनेमाको नाम ‘तीन तिघ्रे, क्या बिग्रे’रहेको छ ।
लोकदोहोरी गायनमार्फत विशिष्ट पहिचान बनाएका पशुपतिले यसअघि ‘प्रेमगीत’ र ‘ब्रासलेट’ जस्ता चलचित्रका लागि गीत गाइसकेका छन् । तर कलाकारका रूपमा भने यो उनको पहिलो सिनेमा हुनेछ । उनी चलचित्रमा केन्द्रीय भूमिकामा देखिन लागेका हुन् ।


