नेपाली सिनेमा उद्योगमा महिलाको लोभलाग्दो योगदान

सुरक्षा भट्टराई

काठमाडौं । नेपाली सिनेमा उद्योगको इतिहास हेर्ने हो भने ६ दशक लामो भइसकेको छ । ६ दशक लामो समयमा सिनेमा उद्योगलाई यो स्थानमा ल्याइपुर्‍याउन हरेक चलचित्रकर्मीहरूको उत्तिकै योगदान छ ।

पर्दा पछाडि काम गर्ने प्राविधिकदेखि पर्दामा देखिने कालाकारसम्मको योगदान छ । निर्माता र निर्देशक त सिनेमाका मेरुदण्ड नै भइगए ।

६१ वर्षको नेपाली चलचित्रको इतिहासमा हरेक सिनेकर्मीको उत्तिकै भूमिका छ, तुलनात्मक रूपमा केही तलमाथि हुने बेग्लै पक्ष हो । जुम्ल्याहा सन्तानमा त फरकपन भेटिन्छ भने फरक भूमिका, फरक कल्चर, फरक सोच र फरक भूगोलबाट आएका व्यक्तिमा केही तलमाथि हुनु त स्वभाविक नै हो ।

नेपाली चलचित्र उद्योगमा पुरुषको जति योगदान छ, त्यही हाराहारीमा महिलाको पनि छ । प्राविधिकदेखि कलाकारसम्म, निर्मातादेखि लेखकसम्म सिने क्षेत्रमा महिला चलचित्रकर्मीको उत्तिकै भूमिका र योगदान छ ।

नेपाली सिनेमा उद्योगमा सर्वाधिक सफल ब्रान्ड ‘छक्का पञ्जा’को सिरिजकी निर्देशक (एउटाबाहेक) दीपाश्री निरौला हुन् । यही सिनेमाले हो, जसले नेपाली चलचित्र उद्योगमा सिनेमाको ठूलो बजार छ भनेर स्थापित गरिदियो ।

दीपाश्री मात्रै होइन, नेपाली सिनेमा उद्योगमा थुप्रै महिला निर्देशक छन् । जसले सम्पूर्ण टिमलाई आफ्नो पकडमा राखेर सिनेमा बनाउँछ ।

एक्सन सिनेमाको निर्देशकको छवि यतिबेला कृषा चौलागाईंले बनाइरहेकी छन् । एक्सन सिनेमा निर्देशन गर्ने ठूलो चुनौती हुन्छ । एकातिर निर्माणको चुनौती हुन्छ भने अर्कोतिर लगानी जुटाउन नै समस्या हुन्छ । तर, पनि उनलाई निर्माताले विश्वास गरिरहेका छन् ।

गत वर्ष मात्रै समुन्द्र भट्टले निर्देशन गरेको चलचित्र ‘गुन्यु चोलो’ले थुप्रै अवार्ड जित्यो । धेरैले एप्रिसिएसन गरेको चलचित्र व्यापारिक रुपमा सफल नभए पनि विषय र मेकिङको प्रशंसा पाएको थियो ।

नेपाली सिनेमा उद्योगमा एउटा गज्जबको प्रसंग छ, त्यो के हो भने पहिलो चलचित्र ‘आमा’को एक नायिका चैतन्यदेवीले अभिनय पढेर आएकी थिइन् । नेपाली चलचित्र इतिहासमा अभिनय नै अध्ययन आउने पहिलो अभिनेत्री नै उनी हुन् ।

चैतन्यदेवीले मस्कोस्थित अल युनियन स्टेट इन्स्टिच्युट अफ सिनेमाटोग्राफीमा स्टेज एन्ड सिनेमा एक्टिङमा ६ वर्ष लगाएर मास्टर्स गरेकी थिइन् । यसरी सर्टिफाइट भएर चलचित्र क्षेत्रमा प्रवेश गरेकी चैत्यदेवीले नेपालमै बनेको पहिलो चलचित्र ‘आमा’ हुँदै ‘कुमारी’लगायत दर्जनौँ चलचित्रमा काम गरिन् ।

एक्सन निर्देशनमा पुरुषको विकल्प छैन भनिरहेका बेला किरण दाहालले यो चुनौती स्वीकारेर आफूलाई एक्सन निर्देशकका रुपमा प्रमाणित गरेकी थिइन् । चलचित्र ‘लुट’मार्फत उनले यो जिम्मेवारी बहन गरेकी थिइन् । ‘लुट’मा असिस्टेन्ट द्वन्द्व निर्देशक भएर काम सुरु गरेकी उनले पहिलोपटक द्वन्द्व निर्देशक भएर काम गरेको चलचित्र भने ‘सारंक’ हो ।

नेपाली सिनेमा उद्योगमा ‘मेरो एउटा साथी छ’बाट रेनेशा राईले नृत्य निर्देशनमा प्रवेश गरिन् । यसपछि उनले थुप्रै चलचित्रमा यो काम गरिन् । उनले फड्को मारेर सिनेमा नै निर्देशन समेत गरिन् ।

शान्ती ठटाल पहिलो महिला चलचित्र संगीतकार हुन् । २०३४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’बाट उनी महिला चलचित्र संगीतकारका रुपमा स्थापित भइन् ।

नेपालको पहिलो चलचित्र ‘आमा’को गीत तारादेवीले गाइन्, जुन आफैँमा इतिहास पनि हो । पहिलो चलचित्रको पार्श्व गायनमा नै महिलाको योगदान रह्यो ।

वि.स. २०४५ मंसिरमा प्रदर्शनमा आएको चलचित्र ‘मायालु’ महिलाले लेखेको सिनेमा थियो । यसअघि कुनै पनि चलचित्रको कथा महिलाले लेखेका थिएनन् । मायालुको कथा नुतन प्रधानले लेखेकी थिइन् । यसले लेखनमा पनि पुरुषको विकल्प छ भन्ने प्रमाणित गरेको थियो ।

मायालुबाट चलचित्र लेखन यात्रा सुरु गरेकी उनले त्यसपछि थुप्रै चलचित्रको कथा लेखिन् ।

चलचित्र ‘जुनी’ २०४० को दशकको सुरुमा प्रदर्शनमा आउँदा यसमा पनि महिलाको ठूलो योगदान रह्यो । यो महिला निर्माताले लगानी गरेको चलचित्र थियो ।

‘जुनी’ महिला निर्माताले बनाएको पहिलो चलचित्र थियो । यो मञ्जु राणाको लगानी रहेको चलचित्र थियो ।

सूचित्रा श्रेष्ठ पहिलो महिला चलचित्र निर्देशक हुन्, महिलाले सिनेमाको कमान्ड सम्हाल्न सक्दैनन् भनिरहेका बेला ‘प्रेम युद्ध’मार्फत उनले चलचित्रमा एक्सन टकको सुरुवात गरेकी थिइन् । यसले महिलाको क्षमताको प्रमाणित गरेको थियो ।

रक्षा सिंह राणा ‘इज्जत’मार्फत सिनेमाको सम्पादन महिलाले पनि गर्न सक्छन् भन्दै सिनेमामा आइन् । यी केही प्रतिनिधिमूलक पात्र मात्रै हुन्, जसले नेपाली सिनेमा उद्योगमा केही नयाँ कामको सुरुवात गरे, केहीले आफ्नो बेग्लै छवि बनाउँदै आफू सक्षम र अब्बल रहेको प्रमाणित गरे ।

महिला चलचित्रकर्मी पनि पुरुषजत्तिकै सक्षम र अब्बल रहेको निर्देशक समुन्द्र भट्ट बताउँछिन् । “यहाँ कमी अवसरको मात्रै हो । अवसर पायो हो के पुरुष के महिला, चलचित्रको काममा केही फरक देखिँदैन,” उनी भन्छिन्, “अवसर पाएको खण्डमा पुरुषले जत्तिकै राम्रो काम सिनेमाका हरेक विधामा महिला चलचित्रकर्मीले गर्न सक्छन् ।

सिर्जनात्मक काममा महिला र पुरुष भन्ने नहुने उनको बुझाई छ । तर, पितृसत्तामक सोच भएकाले केही समस्या नेपाली समाजमा जस्तै चलचित्र क्षेत्रमा पनि रहेको समुन्द्र बताउँछिन् ।

“अहिले मात्रै होइन, नेपाली सिनेमाको इतिहास हेर्दा पनि पुरुषकै हाराहारीमा महिलाको पनि योगदान छ, जति अवसर पाए त्यसमा आफूलाई प्रमाणित गरेर महिलाले देखाएका छन्, “उनी अगाडि थप्छिन्, “समस्या महिला चलचित्रकर्मीमा होइन, उनीहरुलाई हेर्ने पुरुष सोचमा छ । जुन दिन पुरुषलाई सरह महिलालाई विश्वास गरिन्छ, त्यो दिन पुरुष र महिला चलचित्रकर्मीमा कुनै पनि अन्तर देखिने छैन ।”

महिलाको क्षमतामा शंका नगर्न र हेर्ने परम्परागत सोचमा परिवर्तन गर्नुपर्नेमा उनको जोड छ । चलचित्र क्षेत्रमा विविधता र विकासका लागि पनि महिला चलचित्रकर्मीलाई सहजै विश्वासको वातावरण निर्माण हुनुपर्ने उनको धारणा छ ।