विष्णु माझीको क्रेज घट्दै हो अब ?
काठमाडौं । गायिका विष्णु माझीको स्वरमा दुई हप्ता अगाडि एउटा गीत सार्वजनिक भयो । ‘झोर्ले हजुर’ बोलको गीत आउँदा धेरै छक्क परे । किनकी उनी धेरै वर्षयता तीजका गीत मात्रै गाउँदै आएकी थिइन् ।
यो पटक उनको आवाजमा तीज अगाडि नै गीत आयो, त्यो पनि अरुको गीत । उनले यो अरुका लागि गाइदिएको गीत थियो । त्यसैले पनि धेरै उनको गीत सार्वजनिक हुँदा छक्क परेका थिए ।
गीत रिलिज हुँदा अब यो गीत बजारमा लोकप्रिय हुने भयो भन्ने धेरैको अनुमान थियो । तर, गीत अनुमान विपरित भइदियो । युट्युबमा नयाँ-नयाँ रेकर्ड राख्ने उनका गीत, यो पटक पनि त्यस्तै होला भन्ने थियो । तर, यो पटक त्यस्तो भएन ।
गीत रिलिज भएको दुई हप्ता भइसक्दा पनि ११ लाख मात्रै भ्युज पाएको छ । यो भ्युज विष्णु माझीका गीतका लागि नगन्य हो ।
किन विष्णु माझीको गीत पनि धेरैले हेरेनन् ? यो गीत चर्चामा नआउँदा यतिबेला के उनको क्रेज अब सकिएको हो भन्ने प्रश्न उब्जिएको छ । त्यसो त यसअघिको उनको तीजको गीत पनि अपेक्षाकृत हिट हुन सकेको थिएन । अहिलेको गीतको भ्युजको गति अझ निकै सुस्त देखियो ।
पछिल्लो तीजको गीत अपेक्षित नचल्नु र अहिलेको गीत गुमनाम जस्तै हुनुले अब विष्णु माझीको क्रेज सकिएको हो कि भन्ने प्रश्न उब्जाएको हो । उनको गीत कहिले आउँछ र सुनौँला भनेर बस्ने स्रोता तथा दर्शक अब घट्दो क्रममा हुन भन्ने सन्देश यो गीतले दिएको त होइन भन्ने प्रश्न पनि उठेको छ ।
विष्णु माझी र गायक बाबुकृष्ण परियारको स्वर रहेको ‘झोर्ले हजुर’ गीतमा रमेश बिजीको शब्द छ । ‘झोर्ले हजुर’मा संगीत स्वयं बाबुकृष्णकै छ । संगीत संयोजन श्यामश्वेत रसाइलीले गरेका छन् ।
मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार गीतको भिडियोमा गायक बाबुकृष्ण परियार र सुजैन सिंह खड्काको नृत्य छ ।

