गत वर्ष पल अघि अनमोल पछि यस वर्ष ?
काठमाडौं । पछिल्लो समय कलाकारको सफलता उसको अभिनयले भन्दा पनि बक्सअफिसले मापन गर्न थालिएको छ ।
कसको सिनेमाले धेरै व्यापार गर्यो, त्यही सिनेमा र त्यसकै कलाकार सफल हुन् भन्ने भाष्य निर्माण भइरहेको छ । यो आफैँमा सही होइन । तर, व्यापार पनि सिनेमाको सफलतासँग जोडिएर भने पक्कै पनि आउँछ, जुन स्वभाविक पनि हो ।
चर्चा गरौँ, पल शाह र अनमोल केसीको । गत वर्ष अनमोल केसीकोभन्दा बक्सअफिसमा पल शाहको सिनेमा अगाडि देखिएको थियो ।
गत वर्ष अनमोल मुख्य भूमिकामा रहेको ‘जेरी अन टप’ले १२ करोड २८ लाख रुपैयाँ कलेक्सन गरेको थियो । सोही वर्ष पल मुख्य भूमिकामा रहेको ‘आ बाट आमा’ले १३ करोड २० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।
यसपटक भने अवस्था फरक देखियो । पल पछि परे भने अनमोल अघि लागे । यसपटक अनमोल मुख्य भूमिकामा रहेको सिनेमा ‘बाटुलो जून’ले ११ दिनमा ८ करोड ३५ लाख रुपैयाँ कलेक्सन गरिसकेको छ । यो सिनेमा अहिले पनि ठूलो संख्याको शो सहित प्रदर्शनरत छ ।
तर, पल मुख्य भूमिकामा रहेको ‘आ बाट आमा २’ले ७ करोड कलेक्सन गरेको छ । यो तथ्यांकले यो वर्ष अनमोलले बक्सअफिसमा पललाई पछि पारेको देखाएको छ ।
पल नायक रहेको ‘आ बाट आमा २’ लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । कलाकारमा पलसँगै मलिका महत र विपना थापा मुख्य भूमिकामा छन् ।
यता, अनमोल मुख्य भूमिकामा रहेको चलचित्र ‘बाटुलो जून’मा मुख्य कलाकारमा अनमोलसँगै प्रिन्सी खतिवडा, भुवन केसी, गरिमा पन्त र रेयर राई छन् ।




