‘झिंगेदाउ २’ प्रदर्शनअघि युट्युबमा रिलिज भयो ‘झिंगेदाउ’

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिंगेदाउ’ युट्युबमा रिलिज भएको छ । २०७९ सालमा हलमा प्रदर्शनमा आएर व्यावसायिक सफलता हात पारेको ‘झिंगेदाउ’ अहिले युट्युबमा सार्वजनिक गरिएको हो ।

प्रसिद्ध साहित्यकार भीमनिधि तिवारीको चर्चित कथा ‘झिंगेदाउ’मा आधारित भएर बनेको यो चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन्द भुसाल, कुशल विष्ट, हिउँवाला गौतमको शीर्ष भूमिका छ ।

कपनगढी सिनेमासँगको सहकार्यमा फिल्म क्रु नेपालले निर्माणमा बनेको चलचित्र ‘झिंगेदाउ’को पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

यस चलचित्रको सिक्वेल ‘झिंगेदाउ २’ असोज २ गतेदेखि आउने तयारीमा रहेको छ । पहिलो भागका अधिकांश कलाकारलाई निरन्तरता दिँदै बनेको ‘झिंगेदाउ २’ मा महेश त्रिपाठी र आर्यन सिग्देल देखिँदैछन् ।

सिक्वेलको रुपमा तयार भएको ‘झिंगे दाउ २’ले पनि असोज २ गतेबाट दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

निर्देशक देउजाले यस पटक मुकुन भुसालको ठाउँमा अभिनेता महेश त्रिपाठीलाई भित्र्याएका हुन् ।

निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको ‘झिंगेदाउ २’को पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् ।