‘झिंगे दाउ २’को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीत सार्वजनिक

काठमाडौं । गत शुक्रबार अर्थात् असोज २ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगे दाउ २’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । सिनेमा हेरेर हलबाट निस्किएका कतिपय दर्शक भावुक बनेको देखिएको निर्माण पक्षले जनाएको छ । विशेषगरी चलचित्रको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति तथा गीतसंगीतलाई दर्शकले रुचाएका छन् ।

चलचित्रले प्रदर्शनको पहिलो साता पूरा गरेसँगै निर्माण पक्षले दर्शकमाझ एउटा नयाँ गीत पनि सार्वजनिक गरेको छ । बिहीबार ‘आमा भए पो स्वर्ग हुन्छ घर’ बोलको गीत सार्वजनिक गरेको हो ।

आमा र घरबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको गीत निकै मार्मिक छ । गीतमा कुशल बेलबासेको स्वर रहेको छ भने अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतले घरमा आमाको उपस्थितिले ल्याउने खुसी, अपनत्व र आत्मीयतालाई प्रस्तुत गर्नुका साथै आमा नहुँदा घरमा महसुस हुने खालीपन र पीडालाई भावनात्मक रूपमा उजागर गरेको छ ।

‘आमा भए पो स्वर्ग हुन्छ घर’ले आमाको भूमिका केवल परिवार सम्हाल्ने व्यक्तिका रूपमा मात्र नभई घरको भावनात्मक केन्द्रका रूपमा चित्रण गरेको छ । आमाको माया, साथ र उपस्थितिले घरलाई घरजस्तो बनाउने भाव गीतको मुख्य मर्म छ ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र ‘झिंगे दाउ २’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन् । सुलभ प्रतिक देउजा र समिक्षा देउजा निर्माता हुन् भने रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा रहेका छन् ।

चलचित्रको छायांकन विष्णु घिमिरे ‘कल्पित’ले गरेका हुन् । सम्पादन मित्र डी गुरुङको रहेको छ भने चलचित्रमा अर्जुन पोखरेलको संगीत छ । एक्सनतर्फ रोशन श्रेष्ठले काम गरेका छन् । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायतका कलाकारको अभिनय छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ ।