सदावहार नायक दयाहाङ राईको आफ्नै छ विशेषता
काठमाडौं । अभिनेता दयाहाङ राईको फिल्मोग्राफीमा अर्को एउटा हिट सिनेमा थपिएको छ । चलचित्र ‘पेन्सन पट्टा’ हिट हुँदा उनको फिल्मोग्राफीमा अर्को हिट सिनेमाको संंख्या थपिएको हो ।
माओत्से गुरुङको लेखन र निर्देशन रहेको चलचित्र ‘पेन्सन पट्टा’ले हालसम्म ६ करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको छ । अहिले पनि एक सयभन्दा माथि शोसहित चलिरहेको र वर्डअफ माउथ पनि राम्रो रहेकाले यसले अझै मोटो परिमाणमा कलेक्सन गर्ने सम्भावना छँदै छ ।
खासै धेरै पब्लिसिटी नगरी प्रदर्शनमा आएको थियो । “म सँग यसपटक पब्लिसिटी गर्ने बजेट छैन, सिनेमा मेहनत गरेर बनाएको छु,” निर्देशक माओत्से गुरुङले भनेका थिए, “अब यो सिनेमा म दर्शकको हातमा छ । दर्शक नै हाम्रा भगवान हो ।”
पब्लिसिटी धेरै नगरे पनि यो चलचित्र रिलिज हुँदैछ भन्ने चाहिँ दर्शकलाई थाहा थियो, किनकी यसमा दयाहाङ मुख्य भूमिकामा थिए । नेपाली सिनेमा उद्योगमा दयाहाङ सदावहार नायक हुन् ।
उनका सिनेमा बाक्लै संख्यामा रिलिज हुन्छन् । तर, कहिले आयो र कहिले उत्रिसक्यो भन्ने पत्तै नहुने चाहिँ हुँदैन । किनकि उनका सिनेमाप्रति दर्शकको चासो रहने गरेको छ । सटल अभिनयका कारण उनी धेरैको रोजाइमा पर्ने गरेका छन् ।
सिनेमा बक्सअफिसमा सफल हुन् वा नहुन्, तर दयाहाङको सिनेमा रिलिज हुँदैछ, हलमा प्रदर्शनरत छ भन्ने चाहिँ धेरैलाई हुन्छ । त्यसैले धेरै मेकरले उनलाई आफ्नो चलचित्रमा लिन्छन् ।
चलचित्र चल्ने अथवा नचल्ने भन्ने चलचित्र स्वयंमा भरपर्छ । दर्शक इंगेज हुने सिनेमा छ भने चल्छ । दर्शकले मन पराउने चलचित्र छैन भने चल्दैन ।
दर्शकले मन पराउने खालको चलचित्र छ भने त्यो धेरै प्रचारप्रसार नगरी प्रदर्शनमा आए पनि वर्ड अफ माउथ राम्रो हुँदा विस्तारै चल्दै जान्छ, यसको उदाहरण ‘पेन्सन पट्टा’ हो । ‘पेन्सन पट्टा’ राम्रो रहेको भन्ने वर्ड अफ माउथकै कारण चलेको हो । सँगै रिलिज हुने चलचित्रले प्रचारप्रसारमा ठूलो रकम खर्च गरे पनि यो सिनेमा ठूलो प्रचारबिना नै प्रदर्शनमा आएको थियो ।
चलचित्र विकास बोर्डको बक्सअफिस प्रणाली सिनेपाका अनुसार ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । दोस्रो सातामा पनि राम्रो व्यापारलाई निरन्तरता दिँदै फिल्मले ६ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको हो ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आएको सिनेमाले तेस्रो हप्ता पनि १०६ शो खल्ती एपमा पाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न हलमा फिल्मले राम्रो शो तथा अकुपेन्सी कायम गरिरहेको निर्माण पक्षले जनाएको छ ।
पारिवारिक सम्बन्ध, प्रेम, त्याग, जिम्मेवारी र निवृत्त जीवनसँग जोडिएको कथावस्तु फिल्मको मुख्य आकर्षण बनेको छ ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ ।



