दयाहाङ र मिरुनाको ‘सुपरहिट जोडी’को साख ‘रातो घेरा’ले फेरि चम्काउला ?
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कुनै समय यस्तो थियो, जहाँ दयाहाङ राई र मिरुना मगर हुनु नै फिल्म ‘हिट’ हुने ग्यारेन्टी मानिन्थ्यो । ‘कबड्डी ४’ र ‘जारी’ को ऐतिहासिक सफलतापछि यो जोडीलाई दर्शकले मात्र होइन, निर्माता-निर्देशकले पनि ‘लक्की च्यार्म’ माने । तर, पछिल्लो डेढ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने यो जोडीको जादू बक्सअफिसमा फिक्का बन्दै गएको देखिन्छ ।
यतिबेला यो जोडी पुनः नयाँ चलचित्र ‘रातो घेरा: द रेड सर्कल’ मार्फत पर्दामा फर्किने तयारीमा छ । के यो चलचित्रले दयाहाङ र मिरुनाको गुम्दै गएको साख जोगाउला ? यो प्रश्न अहिले फिल्म वृत्तमा निकै चर्चामा छ ।
‘जारी’ प्रदर्शन भएपछि दयाहाङ र मिरुनाको जोडीलाई आफ्नो फिल्ममा लिन मेकरहरूबीच तछाडमछाड नै चल्यो । जसको नतिजास्वरूप उनीहरूले छोटो समयमै सातवटा चलचित्रमा स्क्रिन सेयर गरे । तर, अत्यधिक ‘एक्सपोजर’ले उनीहरूलाई फाइदाभन्दा बढी घाटा पुर्याएको देखिन्छ ।
उनीहरूले अभिनय गरेका ‘नाङ्गो गाउँ’ र ‘घर ज्वाइँ’ले औषत व्यापार गरे पनि ‘कबड्डी ४’ र ‘जारी’को तुलनामा यी फिल्म निकै कमजोर सावित भए । त्यसपछिका ‘मनसरा’ र ‘रंगेली’ले पनि सोचेजस्तो व्यापार गरेनन् ।
सबैभन्दा प्रतिक्षित मानिएको ‘जारी २’ ले ५ करोड माथिको व्यापार त गर्यो, तर ‘जारी’ ब्राण्डले बनाएको हाइप र अपेक्षाको अगाडि यो कलेक्सन सफल होइन ।
सुरुवातमा सुपरहिट जोडी कहलिएका उनीहरुका सिनेमा लगातार असफल जस्तै भएपछि मेकरले यी दुईलाई एकसाथ लिने क्रम घट्यो ।
यो बिचमा मिरुनाले चलचित्र ‘ऊनको स्वीटर’ बाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पुरस्कार जितिन् । त्यसअघि रिलिज भएका उनका दुई सिनेमा ‘मैझारो’ र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ बक्सअफिसमा असफल भए ।
अर्कोतर्फ दयाहाङका लागि भने यो समय अलि चुनौतीपूर्ण रह्यो । उनका एकल वा अन्य अभिनेत्रीसँगका चलचित्रहरूले सोचेजस्तो व्यापार गर्न सकेनन् ।
केही समय अघि घोषणा गरिएको चलचित्र ‘रातो घेरा: द रेड सर्कल’ मा यो जोडी पुनः मुख्य भूमिकामा देखिँदैछन् । चलचित्रको निर्माण पक्षले यो जोडीको पुनरागमनलाई दर्शकले रुचाउने विश्वास लिएको छ ।
दयाहाङ र मिरुनाका लागि अबको बाटो सहज भने छैन । दर्शकमाझ उनीहरूको जोडीलाई लिएर जुन एउटैपन पैदा भएको छ, त्यसलाई चिर्न ‘रातो घेरा’ को कथा र उनीहरूको भूमिका बिल्कुलै फरक हुनुपर्ने देखिन्छ । यदि यो फिल्मले पनि पुरानै ग्रामीण परिवेश वा एउटै शैलीको प्रेमकथा दोहोर्याएमा यो जोडीको व्यावसायिक भविष्यमा थप संकट पर्न सक्छ ।
अब जोडीका रुपमा दयाहाङ र मिरुनाका लागि ‘रातो घेरा’ एउटा अग्निपरीक्षा जस्तै बनेको छ । के यो फिल्मले उनीहरूलाई फेरि ‘सुपरहिट जोडी’ को रूपमा स्थापित गर्ला ? यसको फैसला त समय र बक्सअफिसको नतिजाले नै गर्नेछ ।


