‘पार्वती’को ‘नौतुना रेलैमा’को टिकटकमा ३० हजारभन्दा बढी भिडियो

काठमाडौं । नीता ढुङ्गाना निर्देशित चलचित्र ‘पार्वती’को गीत ‘नौतुना रेलैमा’ यतिबेला सामाजिक सञ्जालमा चर्चित छ ।

केही समयअघि ओएसआर डिजिटल युटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा हालसम्म ३० हजार २०० भन्दा बढी टिकटक भिडियो निर्माण भइसकेका छन् । गीत टिकटकसँगै फेसबुक, युट्युबलगायत प्लेटफर्ममा समेत लोकप्रिय बनेको छ ।

निर्माण पक्षले केही समयअघि ‘नौतुना रेलैमा टिकटक प्रतियोगिता’ समेत घोषणा गरेको थियो । प्रतियोगितामा सहभागी हुन इच्छुक दर्शकले उक्त गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

निर्माण पक्षका अनुसार प्रतियोगिताका उत्कृष्ट तीन विजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। जसअनुसार प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । पाँच जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट प्रदान गरिने घोषणा गरिएको थियो ।

नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा बनेको चलचित्र ‘पार्वती’मा उनी स्वयं मुख्य भूमिकामा रहेकी छन् । फिल्ममा नीतासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन छ ।

चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।