हैट ! ‘पार्वती’को पोस्टरमा एउटै हातमा एउटा पोस्टरमा नीताको चारवटा औंला, अर्कोमा पाँचवटा
काठमाडौं । अभिनेत्री नीता ढुंगाना आफैँमा अभिनयका हिसाबले अब्बल अभिनेत्री हुन् । सहरिया मोर्डन युवतीको भूमिकामा होस् वा गाउँले युवतीको भूमिकामा उनले आफूलाई पर्दामा खरो उतारिसकेकी छन् ।
उनको आफ्नै प्रोडक्सन कम्पनी छ, सिनेमा पनि बनाउँछिन् । अभिनय र निर्माणमा दह्रो खुट्टा टेकेकी उनले यति बेला निर्देशनमा हात हालेकी छिन् । ‘पार्वती उनले निर्देशन गरेको चलचित्र हो । शुक्रबार उनले सिनेमाका दुईवटा पोस्टर पनि सार्वजनिक गरिसकिन् ।
एउटा पोस्टरमा नीता छिन्, जहाँ उनलाई कक्षा कोठामा देख्न सकिन्छ । जहाँ उनी पढिरहेकी छन् । अर्को पोस्टर जहाँ नीतालाई अशोक दर्जीले बोकेका छन्, जसमा उनी हाँसिरहेकी छन् ।
यतिसम्म सब ठिकठाक नै लाग्छ हैन त ? तर, यी दुई पोस्टरमा नीतालाई अलि मिहिनेत गरेर हेरौँ है त । अटिजम भएको जस्तो देखियो होला हैन ? हो । तर, यतिमै यी पोस्टरको कथा सकिँदैन । धेरै कुरा छन्, सिनेमाको सार बताउने पोस्टरमा धेरै कुरा हुने नै भयो ।
तर, यहाँ नेर हामी तपाईंलाई दुईवटै पोस्टरमा नीताको दुबै हात हेर्न आग्रह गर्छौं । हेर्नु भयो ? पक्कै हेर्नु भयो होला । अब हातका औँला हेर्नुस् । हेर्नुभयो ? हेर्नु भयो भने अब एकपटक दुबै पोस्टरका दुवै हातका औँला गन्नुस् त । गन्नु भयो ?
हो, कक्षा कोठामा बसेको पोस्टरको देब्रे हातमा चारवटा औंला छन् । तर अर्को पोस्टरको त्यही हातमा पाँचवटा औँला छन् । अब यसलाई के भन्ने ? पोस्टर डिजाइन गर्न कति हतारो हो, एउटा औँला बनाउन बाँकी छँदाछँदै बजारमा पठाइहाल्न, किन हो यति धेरै चटारो । अनि निर्माण टिम, निर्देशक, निर्माता, क्रिएटिभ निर्देशक कसैलाई पनि आफ्नो पोस्टर हेर्नसम्म फुर्सद छैन ?
अब नीताको के कुरा गरौँ अभिनेत्री पनि आफैँ लेखक पनि आफैँ, निर्देशक पनि आफैँ सबै आफैँ भएपछि यस्ता सामान्य पोस्टर हेर्न त कहाँ हुन्थ्यो समय, होइन त ? समय भएको भए आफ्नै पोस्टर त हेरिहाल्थिन् नि !
भोलि कसरी उनले यसको डिफेन्स गर्छिन्, त्यो अलग कुरा, तर पहिलो गाँसमै ढुंगा होइन यो पहिलो गाँसमै किरा चाहिँ पक्कै हो ।
नीताको डेब्यू निर्देशन ‘पार्वती’ भदौ १२ मा प्रदर्शन हुँदैछ । कथा, पटकथा, निर्देशन र मुख्य भूमिका आफैँले सम्हाल्नुले उनले यो चलचित्रलाई एउटा ‘ड्रिम प्रोजेक्ट’ को रूपमा लिएको बुझिन्छ । तर, ड्रिम प्रोजेक्ट नै यस्तो लापरबाही चाहिँ किन हो ?
यस चलचित्रमा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय छ ।
नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रका निर्माता हरिहर अधिकारी हुन् । सुदीप बरालको डिओपी रहेको यस चलचित्रको संवाद शिवम् अधिकारीले तयार पारेका हुन् ।




