‘टक्सिक’ सँगको भिडन्त टार्न एक महिना पछाडि सर्‍यो ‘जदौ’

काठमाडौं । अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको चलचित्र ‘जदौ’को प्रदर्शन मिति हेरफेर गरिएको छ ।

यसअघि भदौ १२ गतेलाई आफ्नो प्रदर्शन मिति घोषणा गरेको चलचित्र अब एक महिना पछाडि सरेर आगामी असोज ९ गते आउने भएको छ ।

दक्षिण भारतीय चलचित्र ‘टक्सिक’ भदौ १० गते प्रदर्शनमा आउने पक्का भएसँगै २ दिनपछि आउन लागेको ‘जदौ’को निर्माण पक्षले सम्भावित जोखिमलाई मध्यनजर गर्दै फिल्मको रिलिज एक महिना पर सारेको हो । ‘टक्सिक’ को व्यापक चर्चा र हाइपका कारण व्यावसायिक सुरक्षा खोज्दै ‘जदौ’ को रिलिज पछाडि धकेलिएको बुझिएको छ ।

चलचित्रको निर्माण पक्षले शुक्रबार शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक गरेसँगै उक्त मिति बारे जानकारी गराएको छ ।

सार्वजनिक गीतमा गायक राजनराज शिवाकोटी र गायिका रचना रिमालको स्वर रहेको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

गीतको भिडियोमा अभिनेत्री नीति शाह, अभिनेता प्रभातपाल ठकुरी र नव-अभिनेत्री राजश्री थापालाई प्रमुख रूपमा फिचर गरिएको छ । भिडियोमा नीति र प्रभातको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ भने राजश्री थापाको इन्ट्रीले भिडियोलाई थप रोचक बनाएको छ । उनीहरूबीचको नृत्य प्रतिस्पर्धा र केमेस्ट्रीले चलचित्रमा त्रिकोणात्मक प्रेम कथा हुन सक्ने संकेत गरेको छ ।

समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको ‘जदौ’ मा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रतातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय छ ।

चलचित्रको गीत सार्वजनीक कार्यक्रममा गायक शिवाकोटीले आफूले पहिलोपटक कुनै संगीतकारको संगीतमा स्वर मात्र दिएको बताए । उनले भने, “म आफैं संगीत गर्ने मान्छे भए पनि यो गीतको शब्द र लय मन परेर स्वर मात्र दिएको छु ।” गायिका रचना रिमालले पनि राजनराजसँग पार्श्व गायनमा पहिलोपटक सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरिन् ।

कार्यक्रममा अभिनेत्री नीतिले ‘जदौ’ अहिले आइरहेका भन्दा अलि भिन्न, यथार्थपरक कथामा निर्माण गरिएको बताउदै दर्शकलाई मन पर्ने आशा ब्यक्त गरिन् ।

अभिनेता मुकुनले दर्शकले ‘जदौ’ मा आफूलाई एक वास्तविक पात्रको रुपमा पाउने उल्लेख गरे भने अभिनेता प्रभातपालले यो सिनेमा आफ्नो लागि निकै महत्वपूर्ण रहेको बताए ।

यही चलचित्रबाट डेब्यु गरेकी अभिनेत्री राजश्रीले आफ्नो पहिलो प्रयास दर्शकलाई मन पर्ने बिश्वास ब्यक्त गरिन् ।

निर्देशक शर्माले आफूहरुले अब्बल चलचित्र बनाउन कुनै कसर बाँकी नराखेको बताए भने अर्का निर्देशक काजीले फिल्मले भरपुर मनोरञ्जनका साथमा समाजोपयो सन्देशसमेत प्रवाह गर्ने धारणा ब्यक्त गरे ।

चलचित्रका निर्माता सृजना शर्मा र मनिष शर्मा हुन् । सह-निर्मातामा राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन् ।

शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको चलचित्रलाई श्याम तामाङ र नवराज उप्रेतीले खिचेका हुन् ।