प्रभातपालको प्रेम नीति र राजश्रीसँग !
काठमाडौं । ‘जदौ’ फिल्मको टिजर सार्वजनिक गरिएको छ । टिजरमा नयाँ पुस्ताका युवायुवतीको त्रिकोणात्मक प्रेमका साथमा अभिभावकबीचको विबाद प्रस्तुत गरिएको छ ।
अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्मको टिजरले सबै बर्गका दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।
टिजरले अभिनेता प्रभातपाल ठकुरीको अभिनेत्री नीति शाह र राजश्री थापाबीच प्रेमप्रसंग रहेको आभाष गराएको छ । अभिभावक पुस्ताको प्रतिनिधित्व अभिनेता मुकुन भुसाल र अभिनेत्री ऋचा शर्माले गरेका छन् ।
असोज ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने ‘जदौ’ लाई अन्तरजातीय प्रेमजोडीको सामाजीक कथाका रुपमा बताइदै आइएको छ ।
नेपाली समाजमा ब्यप्त जातसम्बन्धी बिभेदकारी ब्यबहारले उत्पन्न समस्या र त्यसको निराकरणको लागि चालीएको पाइलालाई सजीव ढंगले प्रस्तुत गरिएको निर्देशक अन्जन शर्माले बताएका छन् ।
लेखक समेत रहेका अर्का निर्देशक काजी लिम्बूले फिल्ममा भरपुर मनोरञ्जनका साथमा जातीय भेदभाव र असमानताको खाड्ल पुर्न मननीय सन्देश उजागर गरिएको उल्लेख गरेका छन् ।
फिल्ममा मुकुन, ऋचा, नीति, प्रभातपाल, राजश्रीका साथमा विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन, सुन्दर धिताललगायतको अभिनय छ ।
प्रीति कौर,बाबुल गिरी र गोपाल लोहारको शब्द, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीको स्वर रहेको ‘जदौं’ का गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।




