त्रिकोणात्मक प्रेम र जातीय विभेदको कथामा ‘जदौ’को ट्रेलर

काठमाडौं । अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्र ‘जदौ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्माणपक्षले चलचित्रको २ मिनेट २२ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरले नेपाली समाजमा अझै विद्यमान जातीय विभेद, अन्तरजातीय सम्बन्धमाथि हुने सामाजिक अवरोध तथा धनी–गरिबबीचको विभेदलाई कथाको केन्द्रमा राखेको संकेत गरेको छ । यद्यपि चलचित्रको मूल कथालाई भने ट्रेलरमा पूर्ण रूपमा खुलाइएको छैन ।

ट्रेलरमा प्रेम, रोमान्स, हास्य, पारिवारिक सम्बन्ध र भावनात्मक द्वन्द्वसँगै सामाजिक विभेदका विभिन्न पाटोलाई प्रस्तुत गरिएको छ । विशेषगरी अन्तरजातीय सम्बन्धलाई समाजले हेर्ने दृष्टिकोण र त्यसबाट उत्पन्न हुने उल्झनले कथालाई अगाडि बढाएको देखिन्छ । सस्पेन्सलाई कायम राख्दै सार्वजनिक गरिएको ट्रेलरले ‘जदौ’ मनोरञ्जनसँगै सामाजिक विषय उठाउने चलचित्र भएको संकेत गर्छ ।

निर्देशक काजी लिम्बूको लेखन रहेको चलचित्रमा नेपाली समाज र जनजीवनसँग जोडिएको मौलिक कथालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माणपक्षको भनाइ छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अञ्जन शर्माले नेपाली समाजमा अझै कायम रहेको जातीय विभेद तथा धनीमानीबाट गरिब–निमुखामाथि हुने थिचोमिचोविरुद्ध चलचित्रमार्फत आवाज उठाउने प्रयास गरिएको बताए । चलचित्रले मनोरञ्जनसँगै सकारात्मक सन्देश प्रवाह गर्ने उनको विश्वास छ ।

अर्का निर्देशक तथा लेखक काजी लिम्बूले आफूहरूले लामो समयदेखि भन्न चाहेको कथा ‘जदौ’मार्फत प्रस्तुत गरेको बताए । उनका अनुसार यो चलचित्र हेरेर मात्र सकिने नभई त्यसले उठाएका विषयलाई महसुस र मनन गर्नुपर्ने खालको छ ।

चलचित्रमा मुकुन भुसालले आफूले यसअघि निर्वाह गरेका भूमिकाभन्दा फरक चरित्रमा काम गरेको बताए । अभिनेत्री नीति शाहले ‘जदौ’का लागि आफूले निकै मेहनत गरेको उल्लेख गर्दै चलचित्रको परिणाम सुखद आउनेमा आशावादी रहेको बताइन् ।

अभिनेता प्रभात पाल ठकुरीले ‘जदौ’ आफ्नो करिअरका लागि महत्वपूर्ण चलचित्र भएको बताए । उनले दर्शकलाई चलचित्र हेरेर साथ दिन आग्रह गरे ।

कार्यक्रममा अभिनेत्री गीता अधिकारी र अभिनेता नरेश पौड्यालले पनि चलचित्रमा आफूहरूले निर्वाह गरेको भूमिकाबारे जानकारी गराउँदै ‘जदौ’ दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।

कार्यकारी निर्मात्री शान्ति पुडासैनीले निकै मेहनत र दुःखका साथ चलचित्र निर्माण गरिएको बताउँदै दर्शकलाई चलचित्र हेर्न आग्रह गरिन् । निर्माता डिल्लीराज पोखरेलले मनोरञ्जनसँगै जातीय विभेदविरुद्धको आवाजलाई पनि चलचित्रले उठाएको बताए । यस्ता विषयमा निर्माण हुने चलचित्रलाई दर्शकको साथ आवश्यक रहेको उनको भनाइ थियो ।

कन्सेप्ट डिजाइनर विमला भण्डारीले पनि चलचित्रलाई आम नेपाली दर्शकमाझ पुर्‍याउन आग्रह गरिन् ।

‘जदौ’ आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौड्याल, राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ र सुमित्रा देवकोटालगायत कलाकारको अभिनय छ ।

श्याम तामाङ र नवराज उप्रेतीले छायांकन गरेको चलचित्रमा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माताका रूपमा छन् ।

सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्मात्री रहेको चलचित्रलाई एनजिसिएन ग्रुपले वितरण गर्दैछ । समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा चलचित्र निर्माण गरेको हो ।

यसअघि सार्वजनिक गरिएको ‘जदौ’को टिजरले पनि दर्शकको ध्यान खिचिसकेको निर्माणपक्षको दाबी छ । चलचित्रको शीर्ष गीत ‘जदौ हजुर..’ र प्रेमिल गीत ‘तिमीसँग नबोली..’ पनि दर्शकमाझ चर्चामा छन् ।