‘जदौ’को दोस्रो गीत ‘तिमीसँग नबोली’ सार्वजनिक, नीति र प्रभातको जोडी बन्यो रोमान्टिक
काठमाडौं । चलचित्र ‘जदौ’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार ‘तिमीसँग नबोली’ बोलको गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा गायक किरण गजमेर र मनिषा सुनारको स्वर, गोपाल लोहारको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ ।
रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका मुख्य कलाकार नीति शाह र प्रभात पाल ठकुरीको आकर्षक स्क्रिन केमेस्ट्री देख्न सकिन्छ ।
यो गीतमा डान्स स्टेप्स भन्दा पनि ‘भावपूर्ण मुभमेन्ट’मा जोड दिएका छन् । प्रेमी-प्रेमिका बीचको सामीप्यता, साना-साना स्पर्श र प्रेमिल जिस्काइलाई उनले निकै सुन्दर ढंगले सेट गरेका छन् ।
अन्तरजातीय प्रेम सम्बन्धको संवेदनशील र गहिरो विषयलाई उठान गरिएको चलचित्र ‘जदौ’लाई अन्जन शर्मा र काजी लिम्बुले संयुक्त रूपमा निर्देशन गरेका हुन् । चलचित्रको स्क्रिप्ट पनि निर्देशक लिम्बुले नै तयार पारेका हुन् ।
चलचित्रमा नीति र प्रभातका अलावा मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, र सुमित्रा देवकोटालगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।
यसअघि सार्वजनिक भएको चलचित्रको शीर्ष गीत ‘जदौ हजुर’ ले श्रोता र दर्शकको निकै माया पाएको थियो । टिजर र पहिलो गीतको सफलतापछि निर्माण टिमले यो दोस्रो गीत ल्याएको हो । श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको यो गीतले पनि दर्शकको मन जित्नेमा निर्माता र निर्देशक ढुक्क देखिएका छन् ।
समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण गरेको यस चलचित्रमा सृजना शर्मा र मनिष शर्मा निर्माताका रूपमा रहेका छन् भने शान्ति पुडासैनी कार्यकारी निर्माता हुन् । चलचित्रमा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेलले सह-लगानी गरेका छन् ।
एनजिसिएन ग्रुपले वितरण गर्न लागेको यो चलचित्र आगामी असोज ९ गते देखि देशभरका हलहरूमा प्रदर्शनमा आउने तयारीमा छ ।




