निर्देशनलाई ख्याल–ख्याल नसम्झौँ
चलचित्र आर्टका विभिन्न विधाहरूको एक संयुक्त रुप हो । चलचित्र गीतसंगीत, नृत्य, साहित्य, अभिनयलगायत आर्टका विभिन्न विधाहरूको एकीकृत रुप हो । त्यसैले चलचित्र निर्देशन आफैँमा जटिल कार्य हो ।
निर्देशकलाई सिनेमाको क्याप्टेन अफ सिप भनिन्छ । यसको अर्थ यसभित्रका सबै विधाहरूको नेतृत्व निर्देशकले गर्छ । निर्देशकको दिमागमा स्क्रिप्ट पढिसक्दा पूरै चलचित्रको भिजुअल तयार भइसक्नुपर्छ ।
सिनेमाभित्र साहित्य, संगीत, अभिनय, सिनेमेटोग्राफी, कलर, कस्ट्युम, साउन्ड, स्कोरलगायत धेरै विधा हुन्छ । ती सबैको ज्ञान निर्देशकमा हुनैपर्छ । दिमागका सिंगो सिनेमा बोकेर त्यसको कमान्ड निर्देशकले गर्नुपर्छ । त्यसैले निर्देशन विश्वका टप टेन अफ्ट्यारा काममध्ये एक हो ।
तर, पछिल्लो समय नेपाली सिनेमा उद्योगमा हेर्ने हो भने यस्तो लाग्छ, सबैभन्दा सजिलो काम नै चलचित्र निर्देशन गर्नु हो ।
निर्माता पनि निर्देशक, प्राविधिक पनि निर्देशक, प्रोडक्सन म्यानेजर पनि निर्देशक, कलाकार पनि निर्देशक, यस्तो लाग्छ जो सँग पैसा हाल्ने मान्छे छ, उही नै निर्देशक । यसो हेर्दा यो पनि लाग्छ, निर्देशन भने फाइनान्सर खोज्ने क्षमता हो ।
सायद यसकै रिजल्ट हो, अधिकांश सिनेमा औसतभन्दा तलै रहनु । निर्माताको लगानी ड्ब्नु र दर्शकको ध्यान तान्न नसक्नु ।
चलचित्र निर्देशनलाई संसारकै सबैभन्दा कठिन कार्य पक्कै पनि त्यसै भनिएको होइन होला, कुनै एक विधामा मात्रै दक्ष भएर नपुग्ने भएरै यसलाई अफ्ठ्यारो काम हो भनिएको हो । त्यसैले यो ख्यालख्याल र रहहरै रहरमा गर्ने काम होइन । निर्माताको करोडौँ रुपैयाँ, दर्जनौँ व्यक्तिको महिनौँ लामो मेहनत डुब्ने भएकाले निर्देशनमा सचेत हुनुपर्ने देखिन्छ ।
यसैले नेपालमा पनि कम्तीमा एक दर्जन चलचित्रमा चिफ एडी भएर काम गरेको हुनुपर्ने वा सिनेमा निर्देशनको एकेडेमिक शिक्षा लिएको हुनुपर्ने भनेर निर्देशनका लागि क्राइट एरिया तोकिनु पर्ने विषय उठ्दै आएको छ ।
तर, कुनै पनि काम गर्न कोही कसैले पनि कसैलाई रोक्न सक्दैन । स्वतन्त्रपूर्वक आफूले रोजेको काम गर्न सबैले पाउनु सबैको अधिकार हो । यस कारण निर्देशनका लागि मापदण्ड तोकिनु व्यवहारिक हुँदैन । त्यसैले यसमा व्यक्ति स्वयंले बुझ्नु पर्छ । करोडौंको कसैको लगानीका लागि निर्देशनको कमान्ड गर्ने व्यक्ति स्वयं नैतिक जम्मेवार हुनै पर्छ ।




