बोर्डको अध्यक्ष नियुक्त गर्दा सरकारले परम्परा भत्काओस्, चलचित्रको आत्मा बुझेको व्यक्ति रोजोस्

सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । बोर्ड अध्यक्ष बन्न इच्छुक योग्य व्यक्तिले यही असोज ७ गतेभित्र कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिने मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी दिएको छ ।

भदौ ११ गते दिनेश डिसीको दुई वर्षे कार्यकाल सकिएपछि मन्त्रालयले नयाँ अध्यक्ष नियुक्तिका लागि आवेदन मागेको हो । अहिले मन्त्रालयले तत्कालका लागि बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सहसचिव रविलाल शर्मालाई दिएको छ ।

सञ्चार मन्त्रालयले सात दिनभित्र प्राप्त आवेदकबाट ‘सर्ट लिस्ट’ गरेर तीनजनाको नाम क्याबिनेटमा पठाउनेछ । मन्त्रिपरिषद्ले सञ्चार मन्त्रालयले सिफारिस गरेका तीन जनामध्ये योग्य एक उमेदवारलाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।

चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रको सर्वोच्च संस्था हो । यसले सम्पूर्ण चलचित्र क्षेत्रको नेतृत्व गर्छ । बोर्ड सरकार र चलचित्र क्षेत्रका संस्था र चलचित्रकर्मीबीच ब्रिजको भूमिका खेल्छ ।

यो बेला चलचित्र क्षेत्रको पुरानो कानुन विस्थापन गर्ने चलचित्र विधेयक संसद्मा छ । उक्त विधेयक चलचित्र क्षेत्रको विकासका लागि सहयोगी हुनेगरी बनाउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । यदि, यो कानुन राम्रो बन्यो भने चलचित्र क्षेत्रको विकासका लागि ढोका खुल्छ । त्यसैले यसका लागि सरकार र संसद्लाई बुझाउन सक्ने व्यक्ति विकास बोर्डको नेतृत्वमा पुग्नुपर्छ ।

यसका लागि बोर्डमा योग्य व्यक्ति पुग्नुपर्छ । बोर्डको अध्यक्ष सरकारले नियुक्त गर्छ । बोर्डको अध्यक्ष राजनीतिक नियुक्ति हो । त्यसैले सरकारले यो पटक स्वतन्त्र व्यक्ति नियुक्त गर्छ भन्ने छैन । सरकारले आफैँनिकट व्यक्ति नियुक्त गर्ने पक्का छ ।

सरकारले रास्वपा निकट व्यक्ति नियुक्त गरोस् वा स्वतन्त्र, चलचित्र क्षेत्रको आत्मा बुझेको व्यक्ति नियुक्त गरोस् । जसले सिनेमा क्षेत्रको विकास र विस्तार गर्न सकोस् ।

चलचित्र क्षेत्रको विकास र विस्तारमा बोर्डको नेतृत्वले राम्रोसँग काम नगरेको भन्दै बोर्ड खारेज गरे पनि हुन्छ भन्दै चलचित्रकर्मीहरूले आलोचना गर्दै आएका छन् । त्यसैले बोर्डको शाख जोगाइरहन पनि र चलचित्र क्षेत्रको विकास र विस्तारका लागि कुनै सम्झौता नगर्ने व्यक्ति बोर्ड अध्यक्ष हुनुपर्नेछ ।

प्रायः बोर्डमा त्यस्तो व्यक्तिलाई यसअघिका सरकारहरूले अध्यक्ष बनाए जो बोर्ड र चलचित्रकर्मीप्रति भन्दा पनि सरकारप्रति उत्तरदायी होस्, त्यस्तो पार्टीको कार्यकर्ता नै बोर्डको अध्यक्ष हुँदै आएको परम्परा छ । यो सरकारले त्यो परम्परालाई भत्काओस् । पुराना सरकारका गल्तीलाई दोहोर्‍याउने होइन सच्याउँदै बोर्डलाई योग्य अध्यक्ष दिओस् ।