चलचित्र पारिश्रमिकको होडबाजीले चल्दैन भन्ने बुझौँ
नेपाली सिनेमा उद्योग यस्तो क्षेत्र हो, जहाँ ५० लाख रुपैयाँ पारिश्रमिक तिरेर पनि एउटा नायकलाई आफ्नो सिनेमामा लिन निर्माता सहजै तयार हुन्छन् । यसको पछाडि एउटै कारण छ, सिनेमाको हाइप राम्रो बनोस् । र, त्यसले बक्स अफिसमा राम्रो कमाइ गरोस् ।
तर, सोचेजस्तो हुँदैन । कारण थुप्रै होलान्, जस्तै : नेपाली बजार सानो छ, हाम्रा कलाकारको चर्चा भएजस्तो स्टारडम छैन । सिनेमा नै भनेजस्तो राम्रो बन्दैनन् । बजारको मागभन्दा धेरै सिनेमा बन्छन् । भनेजस्तो प्रचार हुँदैन । उस्तै उस्तै खालका सिनेमा बजारमा आउँछन् ।
कारण जे सुकै होस्, स्टारडम भएका भनिएका कलाकारका सिनेमा नै भनजस्तो चल्दैनन् । धेरै चलचित्र त औसतभन्दा तलै रहन्छन् । करोड क्लबमा पनि प्रवेश गर्दैनन् । एउटा सिनेमा बनाउन नै औसतमा साढे २ करोड रुपैयाँ लाग्ने भइसक्यो । तर, ग्रसकलेक्सन चाहिँ एक करोड पनि नभएपछि कसरी निर्माताको लगानी रिकभर हुन्छ ?
चलचित्र विकास बोर्डको सिनेपा बक्सअफिस तथ्यांक हेर्ने हो भने बजारमा स्टार भनेर कहलाएका कलाकारका भन्दा दोस्रो लिडमा काम गर्ने कलाकार लिडमा आएर काम गरेका चलचित्रले धेरै कमाएका छन् ।
विजय बरालको मुख्य भूमिका भएको चलचित्र ‘पूर्ण बहादुरको सारङगी’ले ४६ करोड ८० लाख रुपैयाँ नेपामा मात्रै कमाएको थियो । अरुण क्षेत्री मुख्य भूमिकामा रहेको चलचित्र ‘गौँथली’ले हालसम्म २४ करोडमाथि कमाइसकेको छ ।
बजारमा स्टार भनेर कहलाएका र ५० लाखसम्म पारिश्रमिक लिने कलाकार मुख्य भूमिकामा रहेका कलाकार सिनेमाले २१ करोडभन्दा माथि कलेक्सन गर्न सकेका छैनन् । जबकी विजय पनि ‘पूर्ण बहादुरको सारङ्गी’ भन्दा अगाडि सेकेन्ड लिडमा नै थिए । अरुण पनि ‘महापुरुष’मा सेकेन्ड लिडमा नै थिए ।
यसले के देखाउँछ भने व्यक्ति होइन निर्माता र निर्देशक कथाको पछि लाग्नुपर्छ । पारिश्रमिकको होडबाजी होइन सिनेमा चल्ने कारण अरु नै हुन्छ ।
व्यक्तिको अनुहारले सिनेमा चल्ने समय राजेश हमालको युगदेखि नै सकिसक्यो, अहिले सिनेमा त्यसभित्रको गुण र दोषका आधारमा चल्छ भन्ने बुझाई अब सबैमा हुनुपर्छ ।




