‘पार्वती’को ट्रेलरमा दिदी-भाइको आत्मियता र अटिजमको कथा
काठमाडौं । नायीका नीता ढुङ्गानाको निर्देशन तथा मुख्य भूमिका रहेको चलचित्र ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ ।
जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसर पारेर आगामी भदौ १२ गतेबाट रिलिजमा आउने चलचित्रको निर्माण टिमले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरले चलचित्रको मुख्य सारलाई उजागर गरेको छ । ट्रेलरमा अटिजम भएकी एउटी युवती ‘पार्वती’ (नीता ढुङ्गाना) र उनका भाइ (अशोक दर्जी) बीचको अटुट माया र संघर्षलाई देखाइएको छ ।
समाजले हेर्ने दृष्टिकोण र एउटा परिवारले अपाङ्गता भएकी सन्तानका लागि भोग्नुपर्ने पीडालाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
ट्रेलरको एउटा बलियो पक्ष भनेको बाबुले आफ्नी अटिजम भएकी छोरीलाई सामान्य बालबालिकासँगै स्कुल भर्ना गर्दा खेप्नुपरेको चुनौती हो । स्कुलमा सहपाठीहरूले ‘बहुला’ भन्दै जिस्क्याउँदा पार्वतीले प्रतिवादस्वरुप उनीहरूलाई कुट्छिन्, जसका कारण उनले समाज र विद्यालयबाट अनेक लान्छना र अपमान सहनुपर्छ । यस्तो कठिन परिस्थितिमा पनि भाइले आफ्नी दिदीलाई दिने साथ र सुरक्षाले दर्शकको मन पगाल्ने निश्चित छ । ट्रेलरमा अशोक दर्जी र नीता ढुङ्गानाको अभिनय निकै जीवन्त देखिएको छ ।
चलचित्रलाई नीता ढुङ्गाना आफैँले निर्देशन गरेकी हुन् भने यसको कथा र पटकथा पनि उनकै हो । चलचित्रमा नीता र अशोकका साथमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्त प्रकाश अधिकारी लगायतको सशक्त अभिनय रहेको छ ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस चलचित्रको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको डीओपी रहेको यस चलचित्रको नृत्य निर्देशन रामजी लामिछानेको छ ।
साहिल खानले फिल्मको सम्पादनका साथै टिजर र ट्रेलर तयार पारेका हुन् ।
हरिहर अधिकारी निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन् । चलचित्रलाई एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले संयुक्त रूपमा देशभर वितरण गर्नेछन् ।
अटिजम जस्तो संवेदनशील विषय र दिदी-भाइको पवित्र सम्बन्धलाई पर्दामा उतारेको ‘पार्वती’ ले यस वर्षको रक्षा बन्धनमा दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।




