‘पार्वती’को पहिलो दिनको कमाइ हस्तान्तरण, सिनेमा चलुन्जेलको ५ प्रतिशत आम्दानी निरन्तर दिने घोषणा
काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमाआएको विनाशकारी र अकल्पनीय बाढीले पुर्याएको क्षतिप्रति संवेदनशीलता देखाउँदै प्रदर्शनरत चलचित्र ‘पार्वती’को निर्माण टिमले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए ।
सोही ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेका छन् । सोमबार बाढीपीडितको उद्धार र राहतका लागि चलचित्र टिमले ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो ।
चलचित्रका निर्देशक तथा मुख्य अभिनेत्री नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे र वितरक करण श्रेष्ठसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
शुक्रबार देशभरका हलहरूबाट संकलन भएको कुल २५ लाख ९३ हजार रुपैयाँ ‘ग्रस’ कमाइबाट निर्माताको हिस्सामा आउने शतप्रतिशत रकम (११ लाख ३ हजार २७० रुपैयाँ) बाढीपीडितका लागि छुट्याइएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै निर्देशक नीता ढुङ्गानाले यो कार्यलाई व्यावसायिक नाफाभन्दा पनि मानवीय धर्मका रूपमा व्याख्या गरिन् । उनले भनिन्,“भोटेकोशीमा भएको त्यो अकल्पनीय घटनाले हामीलाई स्तब्ध बनाएको छ । निर्माताको भागमा आउने पहिलो दिनको सबै रकम हामीले कोषमा जम्मा गरेका छौँ । यो सानो सहयोगले पीडितहरूलाई थोरै भए पनि राहत मिल्ने हाम्रो विश्वास छ ।”
नीताले थप घोषणा गर्दै भनिन्,“यो फिल्म हलमा रहुन्जेल हुने कूल आम्दानीको ५ प्रतिशत रकम पनि हामी निरन्तर बाढीपीडितलाई नै प्रदान गर्नेछौँ । फिल्म बनाउनु पैसा कमाउनु मात्र होइन, समाजप्रति उत्तरदायी हुनु पनि हो ।”
यसै चलचित्रका अर्का मुख्य कलाकार अशोक दर्जीले पनि व्यक्तिगत तर्फबाट मानवीयता प्रदर्शन गरेका छन् । उनले आफ्नो पारिश्रमिक वा बचतबाट २५ हजार रुपैयाँ छुट्टै कोषमा जम्मा गरिदिएका छन् ।
देशमा प्राकृतिक विपत्तिको छाया परे पनि चलचित्र ‘पार्वती’ हेर्न दर्शकहरूको उपस्थिति सन्तोषजनक देखिएको छ । वितरक करण श्रेष्ठका अनुसार चलचित्रले दोस्रो दिन शनिबार देशभरबाट करिब ४२ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।
शुक्रबारको तुलनामा शनिबारको कमाइमा उल्लेख्य वृद्धि देखिएको छ भने सोमबार र मंगलबारका लागि पनि हलहरूमा ‘शो’को संख्या राम्रो रहेको छ । भोलि मंगलबार देशभरका हलहरूमा यो चलचित्रको १०० भन्दा बढी शोहरू उपलब्ध हुने निर्माण पक्षले जनाएको छ ।
नीता ढुङ्गानाको निर्देशन, कथा तथा पटकथा रहेको यस चलचित्रलाई शिवम् अधिकारीले लेखेका हुन् । चलचित्रमा नीताका साथै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी र राधिका कँडेल लगायतको अभिनय रहेको छ ।




