नेपालको पहिलो सिनेमा घर कुन हो ?

काठमाडौं । नेपालमा सिनेमा हलको संख्या अहिले थुप्रै भइसक्यो । सिंगल थिएटरदेखि मल्टिप्लेक्सम्म खुलेका छन् । पछिल्लो समय त अधिकांश सिंगल थिएटर विस्थापित भइसकेका छन् । मल्टिप्लेक्सले सिंगल थिएटरलाई विस्थापन गरिसकेको छ ।

नेपालमा सिनेमा हलको जग बसाउने हल कुन होला र कहिले खुल्यो होला त ? आजको फिल्मी रेकर्डमा यो बुझौँ है त ।

काठमाडौंमा पहिलोपल्ट विसं. २००६ मा सिनेमा हल खुल्यो । जसको नाम थियो ‘काठमाडौं सिनेमा घर’ । यसको उद्घाटन विसं. २००६ मंसिर २६ गते गरिएको थियो ।

यो हलमा पहिलोपटक ‘राम विवाह’ नामक सिनेमा देखाइएको थियो । त्यो समय फिल्म हेर्नका लागि टिकटको मूल्य २५ पैसा तोकिएको थियो ।

दुई वर्ष पछि अथवा २००८ मा यसको नाम परिवर्तन भएर जनसेवा हल भयो । २०१८ भदौ २६ मा सामान्य विवादमा हुलले आगो लगाएपछि नेपालको पहिलो सिनेमा घरको इतिहास मेटियो ।

उक्त सिनेमा घर भएको ठाउँमा विशालबजार निर्माण गरियो ।

२०५३ जेठ २० गतेबाट सञ्चलालनमा आएको गोपीकृष्ण मुभिज भने नेपालको पहिलो मल्टिप्लेक्स हल हो । यसअघि नेपालमा जति पनि सिनेमा हल थिए, ती सबै सिंगल स्क्रिन थिए । त्यसैले नेपालमा मल्टिप्लेक्स हलको सुरुवात गर्ने श्रेय गोपीकृष्ण मुभिज् प्रा.लि. चाबहिललाई जान्छ ।

सुरुमा एकै ठाउँमा दुईवटा पर्दा राखेर फिल्म देखाउने चलन यहीँबाट सुरु भएको थियो । पछि यही हलमा राधा, मीरा, ॐ, नमः र शिवायः गरी थप ५ पर्दा थपिएका थिए ।

अहिले भने गोपीकृष्ण मुभिज् बन्द भइसकेको छ । २०८० फागुन १ गतेबाट पूर्ण रूपमा बन्द भएको थियो ।

हाल सञ्चालनमा रहेका हलको कुल संख्या १७३ पुगेको छ । ०८२ मा मात्र देशभर आठवटा नयाँ सिनेमा हल दर्ता भएका थिए ।

अहिले हरेक महिना जसो हल थपिनेक्रम जारी छ । साउनमा गुण सिनेमा पुनः सञ्चालनमा आएको थियो । अहिले दाङमा पनि नयाँ सिनेमा घर बनिरहेको छ । यो निर्माणको अन्तिम चरणमा पुगेको छ ।

अहिले ठूला सहरहरूमा सिनमा घरहरु बनिरहेका छन् । जसका कारण नेपालको बक्सअफिसको आयतन पनि बढ्दै गएको छ ।