किन ‘बाटुलो जून’को सुरुमा धेरै, पछिल्ला ६ दिनमा कम देखियो कमाई ?

काठमाडौं । चलचित्र ‘बाटुलो जून’ले ११ दिनमा ८ करोडको आँकडा पार गर्‍यो । चलचित्र विकास बोर्डले सोमबार बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दा यो सिनेमाले ११ दिनमा ८ करोड ३५ लाख कमाएको देखिन्छ ।

कात्तिक २६ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रले आइतबारसम्म आठ करोड ३५ लाख कलेक्सन गर्नु निकै राम्रो कलेक्सन हो । यो कलेक्सनले अनमोल केसीको राम्रो क्रेज रहेको देखाउँछ ।

बलिउड सिनेमा ‘रामायण’को दबदबाबीच रिलिज भएको सिनेमाले ठूलो संख्यामा शो पाउनु र इनिसियल ११ दिनमा करिब साढे ८ करोड कमाउनु निकै राम्रो हो ।

पहिलो पाँच दिनमा यो सिनेमाले ५ करोड ७५ लाख रुपैयाँ कलेक्सन गरेको थियो । यो राम्रो मात्रै होइन लोभलाग्दो कलेक्सन हो । पाँच दिनमा ५ करोड ७५ लाख रुपैयाँ कलेक्सन गरेको सिनेमाले ११ दिनमा ८ करोड ३५ लाख रुपैयाँ कलेक्सन गर्‍यो ।

पछिल्लो ६ दिनमा यो सिनेमाले २ करोड ६० लाख रुपैयाँ कलेक्सन गरेको देखिन्छ ।

यो तथ्यांकले दुईवटा कुरा संकेत गर्छ । पहिलो– ‘बाटुलो जून’ सुरुका पाँच दिन अथवा इनिसियल रुपमा भयंकर चल्यो । पउने ६ करोड रुपैयाँ चल्यो ।

दोस्रो, मेगास्टार अनमोलको क्रेज र सुपरस्टार भुवन केसीको छविका कारणा सिनेमा इनिसियल रुपमा राम्रो चले पनि त्यसपछि यसको गति सुस्त भयो ।

यदि, यी दुईवटै पक्ष स्वीकार नगर्ने हो भने चाहिँ निर्माण टिमले सुरुका दिनदेखि नै कलेक्सन रिपोर्ट बढाएको हुनुपर्छ । मार्केटिङको स्टाटेजी अनुसार सुरुमा कलेक्सन बढाएर पनि भनेको हुुनसक्छ ।

तर, यी सबै पक्षहरूबीच जसरी ‘बाटुलो जून’ले ११ दिनमा ८ करोड ३५ लाख रुपैयाँ कलेक्सन गर्‍यो । यो निकै लोभलाग्दो कलेक्सन हो । इनिसियल मात्रै राम्रो भए पनि वा निर्माणपक्षले रणनीतिक रुपमा सुरुका दिनका कलेक्सन बढाएर भने पनि यो राम्रो तथ्यांक हो ।

अनमोल केसी मुख्य भूमिकामा रहेको चलचित्र ‘बाटुलो जून’मा अनमोलसँगै प्रिन्सी खतिवडा, भुवन केसी, गरिमा पन्त, रेयर राई, न्यान्सी खड्कालगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । ‘बाटुलो जून’लाई भुवन केसीले निर्देशन गरेका छन् ।

जिया केसी र भविष्य खड्का निर्माता रहेको ‘बाटुलो जून’मा नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, रेअर राई लगाययतको पनि अभिनय छ ।

कृष्ण भण्डारीको सम्पादन रहेको चलचित्र सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका छन् ।