अरिजित सिंहले गरे ‘प्लेब्याक सिंगिङ’ बाट सन्यासको घोषणा

काठमाडौं । भारतीय गायक अरिजित सिंहले फिल्मका लागि गीत गाउने कार्य (प्लेब्याक गायन) बाट सन्यासको घोषणा गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै उनले अबदेखि कुनै पनि नयाँ फिल्मका लागि स्वर नदिने निर्णय गरेका हुन् ।

आफ्नो एक दशकभन्दा लामो सफल करियरको उचाइमा रहँदा अरिजितले लिएको यो अप्रत्याशित निर्णयले विश्वभरका उनका फ्यानहरूलाई स्तब्ध बनाएको छ ।

नयाँ वर्षको शुभकामना दिँदै अरिजितले इन्स्टाग्राम र एक्स (ट्विटर) मा लेखेका छन्, “यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो एक सुन्दर अनुभव रह्यो ।”

उनले अगाडि लेखेका छन्, “मैले सधैँ संगीतलाई एउटा विद्यार्थीका रूपमा हेरेको छु । अब म केही समय आफ्नै लागि बाँच्न र संगीतका अन्य पाटाहरूमा काम गर्न चाहन्छु ।”

यद्यपि, अरिजितले संगीत क्षेत्र नै पूर्ण रूपमा छाडेका भने होइनन् । उनी अब इन्डिपेन्डेन्ट म्युजिक शास्त्रीय संगीत र संगीत कम्पोजिसनमा बढी केन्द्रित हुनेछन् ।

उनले फिल्मको व्यावसायिक गायनबाट विश्राम लिए पनि आफ्नै एल्बम र सांगीतिक सिर्जनाहरू भने जारी राख्ने संकेत दिएका छन् । उनले पहिले नै सम्झौता गरिसकेका केही फिल्मका गीतहरू भने क्रमैसँग सार्वजनिक हुने बताइएको छ ।

सन् २०१३ मा ‘आशिकी २’ को ‘तुम हि हो’ गीतबाट रातारात चर्चामा आएका अरिजितले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनका ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ जस्ता सयौँ गीतहरू चार्टबस्टर रहेका छन् । उनको स्वरमा रहेको जादु र भावुकताले उनलाई वर्तमान समयको सबैभन्दा सफल र महँगो गायक बनाएको थियो ।

उनको यो घोषणापछि सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ । धेरैले यसलाई “एउटा सांगीतिक युगको अन्त्य” भनेका छन् । एक प्रशंसकले लेखेका छन्, “तपाईंको स्वर बिना बलिउड फिल्म अधुरो हुनेछ, तर तपाईंको निर्णयको सम्मान गर्छौँ ।”

अर्का प्रयोगकर्ताले लेखेका छन्, “हाम्रो हरेक मुडका लागि तपाईंसँग एउटा गीत थियो, हामी तपाईंलाई मिस गर्नेछौँ ।”

३८ वर्षीय अरिजितले आफ्नो करियरको यो मोडमा आएर किन यस्तो निर्णय लिए भन्नेबारे थप प्रष्ट पारेका छैनन् । तर, उनी अब पर्दा पछाडिको व्यावसायिक गायक भन्दा पनि एक स्वतन्त्र गायकका रूपमा चिनिन चाहेको देखिन्छ ।