दुर्गेशको ब्रान्ड सकियो कि अझै बाँकी छ ?

काठमाडौं । दुर्गेश थापाका पछिल्ला गीत सुन्ने हो भने एउटा कुरा प्रायः छुट्दैन, त्यो हो– ब्रान्ड । अथवा ‘दुर्गेश थापा नाम होइन ब्रान्ड हो’ । यो शब्द उनको पछिल्लो गीत ‘नाच नाच भाइ नाच’मा पनि छ ।

गीतमा मात्रै होइन अन्तर्वार्ताहरू र भिडियोहरूमा पनि उनी आफू नाम मात्रै भन्दा पनि दुर्गेश थापा आफैँमा ब्रान्ड भएको बताउँछन् ।

उनका कार्यक्रममा दर्शकको संख्या र तीनको जोश हेर्ने हो भने उनी साँच्चिकै ब्रान्ड लाग्छन् पनि । त्यसैले त होला देश होस् वा विदेशका कार्यक्रम उनलाई भ्याइनभ्याइ छ । ती कार्यक्रममा दर्शकको उपस्थिति पनि त्यस्तै हुन्छ । अनि उनको जोशिलो प्रस्तुतिले दर्शक सन्तुष्ट हुन्छन् । दर्शक सन्तुष्ट भएपछि आयोजक पनि सन्तुष्ट हुने नै भए । त्यसैले त हो, उनलाई भ्याइनभ्याइ भएको ।

भ्याइनभ्याइ भएपछि दुर्गेश हेलिकप्टर उडाएर मेलामहोत्सवमा पुग्छन् । त्यसैले भनेका हुन् उनी आफैँले दुर्गेश थापा नाम होइन ब्रान्ड हो ।

उनका गीतमा युट्युबमा रेकर्ड राख्दै अगाडि बढ्थे । त्यसैले बहालवाला प्रधानमन्त्रीले पनि उनलाई युवा पुस्ताको प्रेरणा भन्दै शुभकामना दिए ।

तर, यही माघ १० गते सार्वजनिक भएको गीत त्यस्तो देखिएन । निकै होहल्ला गर्दै सार्वजनिक गरिएको गीत ‘नाच नाच भाइ नाच’लाई १० लाख भ्युज बटुल्न पूरै तीन दिन कुर्नु पर्‍यो ।

युट्युबमा गएर गीत अपलोड गरेको लिंकको कमेन्ट सेक्सनमा गएर हेर्ने हो भने पनि गीत राम्रो लोगेको भनेर लेख्नेको संख्या निकै कम छ । गीतको प्रशंसा गर्नेको संख्या निकै न्यून छ ।

त्यसो त गीत युट्युबमा कमजोर देखिएको मात्रै होइन, चर्चा पनि छैन । यसअघि जसरी उनका गीत रिलिज भए पछि त्यसको चर्चा हुन्थ्यो, त्यो यो पटक देखिएन ।

यसलाई ‘नाच नाच भाइ नाच’मा दुर्गेशको ब्रान्ड र क्रेज नदेखिएको रूपमा पनि लिन सकिन्छ । किनकी १.९२ मिलियन सब्सक्राइभ रहेको युट्युब च्यानलमा १० लाख भ्युज पाउन तीन दिन कुर्नुपरेपछि कसरी यसलाई दुर्गेशको ब्रान्ड देखियो, गीतमा दुर्गेशको क्रेज प्रतिबिम्बित भयो भनेर भन्नु ? यसले दुर्गेश थापा नाम होइन ब्रान्ड अब रह्यो कि रहेन भनेर चाहिँ भन्नुपर्ने देखिएन र ?