जेलमा रहेका राजपाल यादवलाई ठूलो राहत

मुम्बई । चेक बाउन्सको मुद्दामा तिहार जेलमा सजाय काटिरहेका बलिउडका चर्चित अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले ठूलो राहत दिएको छ । अदालतले उनलाई सर्तसहित आगामी मार्च १८ सम्मका लागि अन्तरिम जमानत स्वीकृत गरेको छ ।

न्यायाधीश स्वरण कान्त शर्माको इजलासले सोमबार उक्त आदेश दिँदै यादवलाई जेलमुक्त गर्न बाटो प्रशस्त गरेको हो ।

अदालतले जमानत दिनुअघि यादवलाई एउटा सर्त राखेको थियो । सोमबार दिउँसो ३ बजेसम्ममा उजुरीकर्ता (जुन कम्पनीबाट उनले ऋण लिएका थिए) को नाममा १.५ करोड रुपैयाँ जम्मा गर्न आदेश दिइएको थियो । अदालतले स्पष्ट पारेको थियो कि यदि तोकिएको समयभित्र रकम जम्मा नभएमा जमानतको आवेदनमाथि भोलिपल्ट मात्र सुनुवाइ हुनेछ ।

अभिनेता यादवले अदालतको आदेश पालना गर्दै तोकिएको समयमै रकम जम्मा गरेपछि उनलाई मार्च १८ सम्मका लागि रिहा गरिएको हो ।

सुनुवाइका क्रममा राजपाल यादवका वकिलले मानवीय आधारमा जमानतको माग गरेका थिए । यादवकी भान्जीको विवाह फेब्रुअरी १९ मा तय भएको र परिवारमा उनको उपस्थिति आवश्यक रहेको तर्क वकिलले राखेका थिए । अदालतले सोही तथ्य र उनले बुझाएको रकमलाई मध्यनजर गर्दै होली पर्व र पारिवारिक उत्सव मनाउनका लागि राहत दिएको हो ।

सुनुवाइको क्रममा यादवका वकिलले १.५ करोड रुपैयाँ ‘फिक्स्ड डिपोजिट रिसिप्ट’ मार्फत जम्मा गर्न तयार रहेको बताएका थिए । तर, न्यायाधीश शर्माले त्यसलाई अस्वीकार गर्दै भने, “हामीलाई थाहा छ, यो डिमान्ड ड्राफ्ट नै हुनुपर्छ ।”

रेकर्डका अनुसार प्रतिवादीको नाममा यसअघि नै २५ लाख र ७५ लाख गरी विभिन्न किस्तामा रकम जम्मा भइसकेको थियो । पछिल्लो १.५ करोडको भुक्तानीसँगै अदालतले उनलाई राहत दिएको हो ।

अदालतले अभिनेता यादवलाई आगामी मार्च १८ मा हुने सुनुवाइमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । अदालतले भनेको छ, “अर्को सुनुवाइमा अभिनेता स्वयं वा भिडियो कन्फरेन्सिङ मार्फत उपस्थित हुनुपर्नेछ । प्रक्रियामा हामी कुनै पनि प्रकारको विसंगति वा ढिलासुस्ती चाहँदैनौँ ।”

यस आदेशसँगै यादव अब मार्च १८ सम्म जेलबाहिरै रहनेछन् । उनले आफ्नी भान्जीको विवाहमा सहभागी हुन र घरमै होली मनाउन पाउने भएका छन् ।

अभिनेता यादवले सन् २०१० मा आफ्नो निर्देशकीय डेब्यु फिल्म ‘अता पता लापता’ बनाउनका लागि एक कम्पनीबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । सो ऋण चुक्ता गर्न उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध कानुनी मुद्दा सुरु भएको थियो । लामो समयदेखि चल्दै आएको यो विवादका कारण उनले कारागारको सजाय भोग्नुपरेको थियो ।

यसै विषयमा चेक बाउन्सको आरोपमा अभिनेता यादवले ५ फेब्रुअरी २०२६ मा तिहाड जेलसमक्ष आत्मसमर्पण गरेका थिए।