फर्कियो पलको शून्यमा झरेको सिने करिअर, अनमोललाई रिप्लेस गर्न सक्लान् ?
काठमाडौं । पल शाह तिनै नायक हुन्, जो ‘रावायण’ र ‘मायावी’ लगातार बक्सअफिसमा अनपेक्षित फल्प हुँदा फिल्मी करिअरको शून्यमा झरे ।
यस अर्थमा शून्य, अनुबन्धित भइसकेका चलचित्रबाट निर्माताले हटाए । पोस्टर समेत रिलिज भइसकेका चलचित्र पनि खोसिए । यसले उनको सिने करिअरको ग्राफ शून्यमा झ¥यो भन्दा केही फरक पर्दैन ।
कलाकारका लागि निर्माताले सिनेमा खोस्नुभन्दा दुखद् क्षण अर्को हुन सक्दैन । यो भन्दा ठूलो अपमान सायद अर्को हुन सक्दैन । कमजोर मन÷मुटु भएको कलाकारले यो सहनसक्ने क्षण होइन । तर, पल सम्हालिए ।
अवसरको पर्खाइमा बसिरहे । व्यक्तिगत जीवनमा उनी कति ठिक÷बेठिक छन्, त्यो छुट्टै पाटो हो । तर, सिनेमा खोसिएर अपमानको भारी बोक्दा होस् वा म्युजिक भिडियोमा समेत करिअर खस्किँदा होस्, उनले गिभअप गरेनन् ।
अवसरको खोजीमा बसिरहे । सानोसानो ब्यानरबाटै आएका सिनेमा किन नहोस् उनले गरे । ठूला स्टार भनिएका र मानिएकाहरूका चलचित्र समेत गर्ल्यामगुर्लुम्म ढलिरहेका बेला सिने करिअरको ओरालो यात्रामा रहेका पलका सिनेमाले के गर्लान् भन्ने थियो । अथवा नजरअन्दाज गरिएका थिए पल र उनका सिनेमा ।
तर, अवस्था फेरियो, धेरैले नपत्याएका पलका चलचित्र चल्न थाले । कथित स्टारहरूका चलचित्रले बक्सअफिसमा लाखकै वरपर अड्किरहेका बेला पलका चलचित्रले ठूलो सफलता प्राप्त गरे । जुन धेरैका लागि अनपेक्षित थियो ।
चलचित्र ‘मोहर’ रिलिज हुँदा धेरैले यसको हविगत पनि अन्य स्टारका जस्तै र पलकै अघिल्ला सिनेमा ‘रावायण’ र ‘मायावी’कै होला भन्ने सोचेका थिए । ‘रावायण’ बक्सअफिसमा डिजास्टर भएपछि त्रसित बनेको ‘मायावी’को निर्माण टिमले यसको पूर्वनिर्धारित रिलिज डेट नै सारेको थियो ।
तर, साउनमा रिलिज भएको पलको चलचित्र ‘मोहर’ले पनि बक्सअफिसमा राम्रो कलेक्सन ग¥यो । पलका मात्रै होइन नेपाली चलचित्र उद्योगमै लगातार चलचित्र असफल भइरहेको समयमा ‘मोहर’ले क्रमभंगता गर्यो ।
साउन २३ गते प्रदर्शनमा आएको ‘मोहर’ले बक्सअफिसमा पाँच करोडको आंकडा सहजै पार ग¥यो । पाँच करोडबाट पनि माथि व्यापार गरेपछि पलले राहतको सास फेरे । उनको ओरालो लागेको करिअर अब थप ओरालो नलाग्ला कि भन्ने भयो । ‘मोहर’ आफू चलेन मात्रै समग्र चलचित्र उद्योगमा नै आशा पनि जगायो । अब त अरू पनि चलचित्र चल्छन् कि भन्ने आशाको दियो बालिदियो ।
दशैँ आयो । तर, यो दशैँ चलचित्र उद्योगका लागि विगतका वर्षहरूको जस्तो उत्साह लिएर आउन सकेन । चल्छन्, १० करोडको आँकडा त सहजै पार गर्छन् भनेर अनुमान गरिएका चलचित्र नै राम्रोसँग चलेनन् ।
‘परान’ अपवाद निस्कियो । ‘जेरी अन टप’ले पनि १० करोडभन्दा माथि कमाइ गर्यो । फेरि समय आयो पलको चलचित्र रिलिजको । यो चलचित्र थियो, ‘आ बाट आमा’ ।
यो चलचित्र पनि चल्छ भन्नेमा धेरैलाई विश्वास थिएन । तर, यो चलचित्रले अनपेक्षित कमाई ग¥यो । नेपाली बक्सअफिस मात्रै १० करोडको आँकडा पार ग¥यो । ‘आ बाट आमा’ सुपर हिट हुँदा यो पलको लगातार दोस्रो सिनेमा हिट थियो ।
दयाहाङ राई, सौगात मल्ल, प्रदीप खड्का र लगानीका हिसाबले समीर भट्टकै चलचित्र फल्पको सूचीमा दर्ज भइरहेको बेलामा पलले बक्सअफिसमा लगातार दोस्रो हिट सिनेमा दिए ।
यही रफ्तारमा ‘आ बाट आमा’ अगाडि बढ्ने हो भने अनमोल केसीको ‘जेरी अन टप’लाई यो चलचित्रले पछि पार्ने सम्भावना छ । अनमोल केसीको करिअरकै सर्वाधिक हिट सिनेमा ‘जेरी अन टप’ हो । यो चलचित्रबाहे अनमोलका अरू चलचित्रले ५ करोडको आंकडा पार गर्न सकेका छैनन् ।
तुलनात्मक हिसाबले अनमोलले भन्दा बक्सअफिसमा पलले धेरै कमाइ गर्ने चलचित्र दिएका छन् । जस्तै : ‘मोहर’, आ बाट आमा’, ‘शत्रु गते’ आदि । ‘शत्रु गते’ भने पूरै पलको काँधमा थिएन । तर, पनि उनी मुख्य भूमिकामा नै रहेको चलचित्र भने हो यो ।
अधिकांशका चलचित्रले लगानी डुबाइरहँदा पलका चलचित्र भने त्यही बजारमा लगातार हिट भइरहेका छन् । बजारले नराम्री नेपाली चलचित्रलाई ठगिरहेका बेला पलका चलचित्र चल्दा उनको शून्यमा झरेको सिने करिअर माथि उकासियो । यसले सम्भवतः उनको डिमान्ड बढाउनेछ ।
यहाँनेर अब हेर्न लायक अबको दृश्य के होला भने, उनलाई आफ्नो सिनेमाबाट विभिन्न बहाना बनाएर निकालेका निर्माता र निर्देशकले अब के गर्छन् ? अब आफैँले जबरजस्ती निकालेका निर्माता र निर्देशकले आफ्नो चलचित्रमा लिन्छन् कि लिँदैनन् होला ? यो अबका दिनमा देखिने रमाइलो दृश्य हुनेछ भने समाचारका हेडलाइन पनि ।
नेपाली समाज हो, बलेको आगो ताप्ने यहाँको चलन नै हो । जो बजारमा चल्छ, जसलाई दर्शकले पत्याउँछ, जसका सिनेमाले बक्सअफिसमा आकर्षक कलेक्सन गर्छन्, निर्माता र निर्देशक उसकै पछि लाग्ने हो । अहिले पलका चलचित्र चलिरहेका निर्माता निर्देशक उनकै पछि लाग्यो भने यो आश्चर्यको विषय होइन ।
पलका सिनेमाले पैसा कमाए, कमाउलान् पनि । तर, उनको अभिनयको समीक्षाको बेग्लै पाटो छ । समीक्षा त लगातार आइरहेका छन्, उनको अभिनयलाई लिएर, बाँकी अब उनको आत्मसमीक्षाको हो ।
पलका सिनेमा चले । उनको सिने करिअर फर्कियो । अनमोलका भन्दा पलका सिनेमा धेरै छन् कमाइ गर्नेको सूचीमा । त्यो भए के अब पलले अनमोललाई रिप्लेस गर्लान् ? अनमोलको स्टारडम, क्रेजसँगै उनको स्थान अब पलले लिएलान् ? बजार हो, बजार सधैँ नाफा र घाटाको अंकगणित हो । हेरौँ, सन्निकट भविष्यले देखाउने नै छ, बजार अनमोलका लागि क्रूर देखिन्छ वा पलका लागि ।



