नेपाली चलचित्रको पहिलो महिला द्वन्द्व निर्देशक को हो ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा किरण दाहालले पनि अमिट रेकर्ड राखेकी छन् । कराते खेलाडी उनले नेपाली चलचित्र उद्योगमा राखेको रेकर्ड के होला ? किरण, नेपाली चलचित्र उद्योगको पहिलो महिला द्वन्द्व निर्देशक हुन् ।
चलचित्र ‘लुट’मार्फत उनले यो रेकर्ड आफ्ना नाममा राख्न सफल भएकी हुन् । यो चलचित्रमा उनी असिस्टेन्ट फाइट डिरेक्टर थिइन् ।
सर्लाहीको लालबन्दीकी किरण कराते खेलाडी हुन् । उनलाई उनकै गुरू योगेन्द्र श्रेष्ठले चलचित्र उद्योगमा प्रवेश गराएका थिए । लडन्त भिडन्तको काम पुरुषले मात्रै गर्न सक्छन् भन्ने समाजमा उनले पहिलो फाइट डिरेक्टरको भूमिका निर्वाह गरेकी थिइन् ।
‘लुट’पछि उनले थुप्रै चलचित्रहरूमा सहायक द्वन्द्व निर्देशकको भूमिका निर्वाह गरेकी छन् । उनले पहिलोपटक द्वन्द्व निर्देशक भएर काम गरेको चलचित्र भने ‘सारंक’ हो । यो चलचित्रलाई वीरेन्द्र हमालले निर्देशन गरेका थिए । वीरेन्द्रले पूर्ण विश्वास गदौ किरणले फूल फेजको द्वन्द्व निर्देशकको रुपमा काम गर्ने अवसर पाएकी थिइन् ।
तर, ‘सारंक’ विभिन्न आन्तरिक कारणले सार्वजनिक प्रदर्शनमा आउन सकेन । ‘सारंक’ पछि ‘कुइनेटो’लगायत थुप्रै चलचित्रमा द्वन्द्व निर्देशक भएर काम गरेकी छन् । ‘सारंक’ प्रदर्शनमा नआए पनि किरणको सिने करिअरमा भने यो चलचित्र कोशेढुंगा हो । जसले उनका लागि अवसरको ढोका खोलिदिएको थियो ।



