अनमोललाई पनि पछि पारे पलले, अनमोलले कहिले तोड्लान पलको रेकर्ड ?
काठमाडौं । नायक पल शाहलाई यो वर्ष नेपाली चलचित्र उद्योग निकै फापिरहेको छ । उनले लगातार नेपाली चलचित्र उद्योगकै नामी र रुचाइएका कलाकारहरूलाई पछि पारिरहेका छन् ।
धेरै अपेक्षा गरिएका चलचित्र र लोकप्रिय अभिनेताका सिनेमालाई समेत दर्शकले नरुचाइरहँदा पलका सिनेमा भने सफल भइरहेका छन् ।
पल अभिनीत चलचित्र ‘आ बाट आमा’ले बक्सअफिसमा स्टारडम भएका कलाकारलाई पछि पार्दै अगाडि बढिरहेको छ ।
गत अघिल्लो साता विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र ‘ऊनको स्वीटर’को बक्सअफिस कलेक्सनलाई ‘आ बाट आमा’को कलेक्सनले उछिनेको थियो ।
यो साता पलले बक्सअफिसमा अनमोल केसीलाई पनि पछि पारेका छन् । पल मुख्य भूमिकामा रहेको चलचित्र ‘जेरी अन टप’लाई चलचित्र ‘आ बाट आमा’ले उछिनेको छ ।
‘जेरी अन टप’ले १२ करोड २६ लाख रूपैयाँ कलेक्सन गरेको थियो । त्यसैले यो तथ्यांकलाई केलाउँदा अनमोललाई पनि पलले पछि पारेका छन् ।
अनमोलको करियरमै ‘जेरी अन टप’ सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र हो । त्यसैले अनमोललाई पलले पछि पारे भन्ने बक्सअफिस तथ्यांकले प्रमाणित गरिसकेको छ ।
समकालीन अभिनेताको चलचित्रले आफ्नो चलचित्रको बक्सअफिस कलेक्सनलाई पछि पारेको अवस्थामा अनमोल दबाबमा परेका छन् । उनलाई अब ‘जेरी अन टप’को लाइफ टाइम कलेक्सनलाई उछिन्ने चलचित्र दिनुपर्नेछ । अन्यथा अनमोललाई पलको रेकर्ड तोड्न लामै समय कुर्नुपर्नेछ ।
यसकारण अब अनमोललाई फल्प सिनेमा दिने छुट छैन
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार रातिसम्मको बक्सअफिस रिपोर्ट अनुसार ‘आबाट आमा’ले १२ करोड ६६ लाख ९० हजार ९८१ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
यो अनमोलको ‘जेरी अन टप’को कलेक्सनभन्दा ४० लाख धेरै हो । तर, ‘आ बाट आमा’ प्रदर्शनकै क्रममा रहेकाले यो अन्तर थप फराकिलो हुने निश्चित छ ।
अनमोलको चलचित्र ‘बाटुलो जुन’ आउँदो वर्ष प्रदर्शन हुँदा अनमोल दबाबमा हुनेछन् ।
बोर्डको बक्सअफिस तथ्यांक अनुसार ‘आ बाट आमा’ लाई ४ लाख ८२ हजार ६४७ जना दर्शकले हेरिसकेका छन् । यो संख्यामा अझै केही वृद्धि हुनेछ । जति धेरै यो संख्या बढ्नेछ, त्यति नै पल अगाडि बढ्दा उनका समकालीनहरूलाई चुनौती बढ्दै जानेछ ।
पलको ‘आ बाट आमा’ वर्ष २०८१ को सर्वाधिक कमाउने दोस्रो ठूलो चलचित्र समेत बनेको छ ।
यो वर्ष हालसम्म सर्वाधिक कमाउने चलचित्र ‘परान’ हो । यसले १७ करोड ८४ हजार ४७ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । ‘परान’को कलेक्सनलाई भने ‘आ बाट आमा’ले चुनौती दिन सक्दैन । किनकि यो प्रदर्शनको अन्त्यतिर आइसकेको छ । दर्शकको संख्या घट्दै जाँदा सीमित शो मा खुम्चिसकेको छ ।
चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’मा पलसँगै अभिनेत्री विपना थापा, दक्षिण भारतीय कलाकार प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेतीको मुख्य भूमिका रहेको छ ।
चलचित्रले बक्सअफिसमा सोचेभन्दा राम्रो व्यापार गरेपछि निर्माण पक्ष थप उत्साहित बनेको छ । चलचित्र सुपरहिट भएसँगै निर्देशक पन्त र निर्माण टिमले ‘आबाट आमा २’ निर्माण गर्ने औपचारिक घोषणा गरिसकेको छ ।



