‘टाँक’को सफलतासँगै नयाँ चलचित्र निर्माणको तयारीमा प्रियंका र आयुष्मान
काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको लगानी रहेको लघु-चलचित्र ‘टाँक’ले युट्युबमा दर्शकको उल्लेख्य साथ पाइरहेको छ ।
प्रियंका र आयुष्मानको आफ्नै प्रोडक्सन हाउस ‘आयंका फिल्म्स’ को ब्यानरमा निर्माण भएको यो लघु-चलचित्रले सार्वजनिक भएको छोटो समयमै ४ लाखभन्दा बढी भ्युज बटुल्न सफल भएको हो ।
१४ मिनेट ४४ सेकेन्ड लामो यस चलचित्रले सुदूरपश्चिमको ग्रामीण जनजीवन र त्यहाँको कठोर सामाजिक परिवेशलाई चित्रण गरेको छ ।
विशेष गरी विकट गाउँका बासिन्दाले नदी तर्नका लागि प्रयोग गर्नुपर्ने जोखिमपूर्ण ‘तुइन’ को यथार्थलाई यसमा मार्मिक ढंगले उतारिएको छ । यसले भौतिक पूर्वाधारको अभावमा ग्रामीण जनताले भोग्नुपरेको सास्ती बोलेको छ ।
अक्सर ग्ल्यामरस भूमिकामा देखिने प्रियंका यो लघु चलचित्रमा भने बिलकुलै फरक अवतारमा देखिएकी छिन् । उनले आफ्नो अभिनयमा रहेको विविधतालाई यस सर्ट मुभीमार्फत प्रमाणित गरेकी छिन् । ग्रामीण महिलाको भूमिकामा प्रियंकाको अभिनयलाई दर्शक मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
‘टाँक’लाई सम्तेन भुटियाले निर्देशन गरेका हुन् भने कथा पनि उनकै रहेको छ । यसमा प्रियंकाका साथै रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी र रेणुनाथ योगीको अभिनय रहेको छ ।
यो लघु चलचित्रको सफलतासँगै ‘आयंका फिल्म्स’ अब ठूलो पर्दाको चलचित्र निर्माणतर्फ अघि बढ्ने तयारीमा छ । प्रियंका र आयुष्मानले पछिल्लो केही समयदेखि नयाँ फिचर सिनेमा निर्माणका लागि आन्तरिक तयारी गरिरहेको बुझिएको छ ।



