‘मोहनी लगाउने’ मा अरुण र पञ्चमीको छमछमी, विपिन कार्कीको र्‍याप

काठमाडौं । आगामी २०८३ सालको वैशाख १ गतेदेखि प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘पहाड’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक गरेको हो ।

निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्रको यस गीतले गाउँले परिवेश, मौलिक संस्कृति र आधुनिक र्‍यापको सुन्दर मिश्रण प्रस्तुत गरेको छ ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा नायक अरुण क्षेत्री र नव-नायिका पञ्चमी घिमिरे फिचर्ड छन् ।

निर्देशक घिमिरेकै शब्द रहेको यस गीतमा रञ्जित सिंह गजमेरको सङ्गीत रहेको छ भने यसमा भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ । उक्त गीतमा अभिनेता विपिन कार्कीको र्‍याप सुन्न सकिन्छ ।

‘मोहनी लगाउने’ बोलको यस गीतमा गाउँको सरल जीवनशैली र सहरको तडकभडक बीचको तुलनालाई कलात्मक रूपमा देखाइएको छ । भिडियोको सुरुवात गाउँको रातको दृश्यबाट हुन्छ, जहाँ आगोको धुनी बालेर गाउँलेहरू रमाइलो गरिरहेका छन् ।

गीतको भिडियो मार्फत नेपाली गाउँले समाजको एउटा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको आधुनिकता बीचको फरकता देखाउन खोजेको बुझन सकिन्छ । परम्परागत नेपाली पोशाक दौरा-सुरुवाल, गुन्यु-चोलो र मौलिक गहनामा सजिएका अरुण र पञ्चमीको नृत्यले भिडियोलाई निकै आकर्षक बनाएको छ ।

चलचित्रका मुख्य कलाकारहरूलाई फिचर गरिएको भिडियोमा मौलिकपन झल्किन्छ । भिडियोमा गाउँले संस्कृति, मादल, बाँसुरी र स्थानीय बाजागाजाको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ।

गीतमा लोक भाकाको मिठाससँगै आधुनिक र्‍यापलाई पनि समावेश गरिएको छ । भिडियोमा अभिनेता विपिनले र्‍यापमार्फत सहरको धुलो, धुँवा, भीडभाड र पैसाको दौडधुपलाई चित्रण गर्दै गाउँको स्वच्छ हावापानी र आत्मीयताको महिमा गाएका छन् । यो प्रयोगले नयाँ पुस्ताका दर्शकलाई पनि आकर्षित गर्ने देखिन्छ ।

तुलसी घिमिरेको निर्देशनमा बनेको यो भिडियोमा उनको पुरानै सिग्नेचर स्टाइल अर्थात् ‘पारिवारिक र सांस्कृतिक मर्म’ झल्किन्छ । गीतको शब्द र संगीतमा पहाडको माटोको सुगन्ध सुन्न सकिन्छ ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई गाउँको एक सम्मानित अभिभावक वा मुखियाको रूपमा देखाइएको छ । भिडियोको बीचमा उनले बोलेका शब्दहरूले गीतको मर्मलाई गहिरो बनाएको छ । उनले ‘गाउँको मिठो मोहनीले हाम्रो जोवन त मिठै बित्यो, तर अहिलेका तन्नेरीहरूको मन चाहिँ किन धनको प्यासले पो जित्यो?’ भन्दै आधुनिक पुस्ता सहर र पैसाको पछि दौडिएकोमा चिन्ता र व्यङ्ग्य व्यक्त गरेका छन् ।

चलचित्र ‘पहाड’मा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् ।

चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका चलचित्रमा सहकार्य गरेका छन् ।

‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र दिवंगत अभिनेता सुनिल थापाको अन्तिम अभिनय रहेको चलचित्रका रूपमा दर्ज भएको छ ।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएकाछन् । यस्तै, चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका निर्माताहरू सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी हुन् । प्रस्तुतकर्तामा उत्तम रसाइली रहेका छन् । चलचित्रमा प्रमोद प्रधानको छायांकन, भारती घिमिरे र शंकर कोइरालाको सम्पादन, रञ्जित गजमेरको संगीत, कविराज गहतराज र मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।