नेपालको पहिलो कष्ट्युम डिजाइनर को हो ?

काठमाडौं । सिनेमामा कष्ट्युम डिजाइन निकै महत्वपूर्ण विधा हो । सिनेमाको स्तर उकास्न र यसलाई जीवन्त बनाउन कष्ट्युमको ठूलो भूमिका हुन्छ ।

चलचित्रको कथा, भूगोल, परिवेश, पात्र, उमेर र समयलाई दुरुस्त बनाउन कष्ट्युमको सबैभन्दा ठूलो हात हुन्छ । कथा र पात्र जतिसुकै बलियो भए पनि कष्ट्युम कथा, समय, पात्र र भूगोल सुहाउँदो भएन भने सिनेमा सफल हुँदैन ।

त्यसैले सिनेमामा कष्ट्युम र कष्ट्युम डिजाइनरको भूमिका कति अर्थपूर्ण हुन्छ भन्ने यसबाटै थाहा हुन्छ । कष्ट्युमसँग जोडिएको एउटा रेकर्ड ज्ञानी शोभा तुलाधरसँग छ ।

ज्ञानी शोभा तुलाधर नेपाली चलचित्र उद्योगकी पहिलो ड्रेस डिजाइनर हुन् । नेपाली चलचित्र क्षेत्रमा पहिलो ड्रेस डिजाइनरको रूपमा ज्ञानी शोभा परिचित छिन् ।

उनलाई निर्देशक प्रकाश थापाले यो अवसर दिएका थिए । चलचित्र ‘सिन्दुर’बाट उनले ड्रेस डिजाइनरको यात्राका सुरूवात गरेकी थिइन् ।

चलचित्र ‘सिन्दुर’ वि.स. २०३७ सालमा प्रदर्शन भएको थियो । त्यसयता ज्ञानीले थुप्रै चलचित्रमा ड्रेस डिजाइनरको रुपमा काम गरिन् ।

‘सिन्दुर’मा विश्व बस्नेतको अभिनय रहेको थियो । यो दोस्रो रंगिन सिनेमा हो । काठमाडौंका हलमा सयुंक्त रुपमा सिन्दुर ५२ हप्ता चलेको पहिलो सिल्भर जुब्ली मनाउने सिनेमा हो । यो चलचित्र अशोक हल पाटन, नवदुर्गा भक्तपुर, जय नेपाल काठमाडौं, विश्वज्योति काठमाडौं र रञ्जनामा चलेको थियो ।

यो चलचित्रबाट गोपालराज मैनाली र बसुन्धरा भुसाल चंखे र नक्कली नामले परिचित भएका थिए । यो चलचित्रमा नीर शाह पहिलोपटक खलनायकको भूमिकामा देखिएका थिए ।

यो फिल्मले उज्बेकिस्तानको फिल्म फेस्टिभलमा नेपालको प्रतिनिधित्व गरेको थियो । ‘सिन्दुर’लाई नेपालमै डबिङ गरेको पहिलो फिल्म पनि मानिन्छ ।

उदितनारायण झाले पाश्र्व गायनमा मौका पाएको पहिलो चलचित्र पनि यही हो । उनले ‘हे नक्कली’ बोलको गीत गाएका थिए ।

नृत्य निर्देशक बसन्त श्रेष्ठले पनि नृत्य निर्देशन यही चलचित्रबाट सुरु गरेका थिए ।