चलचित्र ‘पहाड’को ट्रेलरमा मानवविहीन पहाड र पानीको समस्या

काठमाडौं । वैशाख १ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘पहाड’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रको कथावस्तुलाई चित्रण गरिएको छ ।

बेरोजगारीका कारण मानवविहीन हुँदै गएको पहाड र पानीको समस्या ट्रेलरमा देखाइएको छ । चलचित्रले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिए ।

उनले भने, “पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो ।”

‘पहाड’मा दनकृष्ण श्रेष्ठ, विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, सुनील थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए ।

चलचित्रमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ ।