कलाकारको इज्जत राख, संयमित बन
गएको साता दुईवटा घटनाले नेपाली चलचित्र उद्योगमा चर्चा पायो । एउटा, सागर लम्साल (बले) प्रतिको गम्भीर आरोप । अर्को, उषा खड्गीले प्रहरीमा दिएको जाहेरी ।
सागर हाजिरी जमानीमा रिहा भइसकेका छन् । प्रहरीले बोलाएको समयमा उपस्थित हुने गरी उनी रिहा भएका हुन् । त्यसैले उनले सफाइ पाइसके भन्ने होइन । उनलाई कस्टडी बाहिर राखेर थप अनुसन्धान गर्ने भन्ने हो ।
यो घटनामा सागर दोषी हुन् अथवा आरोप लगाउने युवती भन्ने प्रहरी अनुसन्धान र यदि केस अदालतसम्म पुग्यो भने न्यायालयले निर्णय गर्ने नै छ । त्यसैले अहिले नै सागर दोषी हुन् र युवती पीडित हुन् भन्न मिल्दैन ।
पूर्वमिस नेपाल समेत रहेकी कलालाकार उषा खड्गीको फेसबुकमा पोखेको असन्तुष्टि र जिल्ला प्रहरी परिषर भक्तपुरमा उनले पूर्वपति जिपी तिमल्सेनाविरुद्ध दिएको जाहेरीले पनि राम्र्रै चर्चा पायो ।
उनको जाहेरी पछि जिपी पक्राउ परे । तर, उनी पनि छुटिसके । पक्कै पनि पीडित महसुस नभइ आरोप र उजुरी परेन होला । समस्या र कमजोरी हेरक व्यक्तिमा हुन्छन्, त्यसलाई सुल्झाउँदै जाने हो । बल्झाउँदै जाँदा त्यसले आफैँलाई हानी गर्छ ।
एकपटक प्रहरी र अदालतमा केस पुगिसकेपछि फेरि उस्तै प्रकृतिको घटना दोहोरिनु र दोहो¥याउनु गलत हो । यो व्यक्तिको समस्या हो ।
कलाकार सार्वजनिक छवि भएको व्यक्ति हो, उसको व्यक्तिगत जीवन सार्वजनिक चासो र सरोकारको विषय हो । त्यसैले आमजनताले उनीहरूको व्यक्तिगत सम्बन्धमा चासो राख्नु स्वभाविक हो । त्यसैले उनीहरूका क्रियाकलाप उनीहरूसँग मात्रै सीमित हुँदैनन्, समग्र ऊ क्रियाशील भएको कला क्षेत्रसँग पनि जोडिएको हुन्छ ।
एउटा कलाकारले इज्जत राखे कला क्षेत्रकै नाक रहन्छ भने बेइजत गरे समग्र कला क्षेत्र र कलाकारकै नाक काटिन्छ । त्यसैले सार्वजनिक छवि भएको व्यक्तिले कुनै पनि गलत क्रियाकलाप गर्नुभन्दा अगाडि म मात्रै होइन, म सँगै जोडिएको क्षेत्र र यसमा रहेका समग्र व्यक्तिको इज्जत माथि पनि दाग लाग्छ भन्ने हेक्का राख्नुपर्छ । त्यसैले समाजले औंला उठाउने, नैतीकहीत काम गर्नुअछि संयमित होऊ ।

