सुरुवात राम्रो भएन नयाँ वर्षको, वर्षभर के होला ?
काठमाडौं । यो नयाँ वर्षलाई नेपाली चलचित्रले राम्रोसँग स्वागत गरेन । नयाँ वर्षको छेको पारेर अघिल्लो वर्षको अन्तिममा रिलिज भएका र वर्षको सुरुमा प्रदर्शनमा आएका चलचित्रले यो वर्षलाई राम्रोसँग स्वागत गरेनन् ।
वर्षको अन्तिममा चैत २७ गते रिलिज भएको चलचित्र ‘राम नाम सत्य’ले पनि सोचेजस्तो राम्रो बिजनेस गरेन । यसमा स्टारकास्ट विराज भट्ट भए । नयाँ पुस्तालाई लक्षित गर्दै टिकटकर आयुष सिंह ठकुरी थिए । एक्सन सिनेमा थियो । ठूलो बजेटमा बनेको चलचित्र थियो । तर बक्सअफिसमा सिनेमा सुपरहिट हुन सकेन ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार यो सिनेमाले गत शनिबारसम्म कुल ३ करोड ३८ लाख ५८ हजार ८ सय २१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
वर्षको पहिलो दिन नै प्रदर्शनमा आएको थियो, लेजेन्ड निर्देशक तुलसी घिमिरेको चलचित्र ‘पहाड’ । यसमा पनि बजारमा परिचित फेसको उल्लेख्य संख्या थियो । स्टार थिए, विपीन कार्की । तुलसी घिमिरेको कमब्याक सिनेमा भनिएको थियो ।
तर, यो चलचित्रले भने सोचेजस्तो कलेक्सन गरेन । एक हप्तामा ५० लाख पनि कटाउन सकेन । यो सिनेमाले गत शनिबारसम्म ६१ लाख ७७ हजार २ सय ६२ रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ ।
त्यसैले वर्षको पहिलो दिन नै प्रदर्शनमा आएको चलचित्रले पनि दर्शन तान्न सकेन । वर्षको सुरुवात राम्रो हुन सकेन ।
त्यसपछि वैशाख ११ गते प्रदर्शनमा आयो चलचित्र ‘परालको आगो’ । यो सिनेमामा पनि स्टारका रूपमा सौगात मल्ल र प्रकाश सपूत थिए । सुहाना थापा नायिका थिइन् । यो सिनेमाको लाइफटाइम कलेम्सन राम्रो वा नराम्रो कस्तो रहनेछ, हेर्न बाँकी नै छ ।
तर, यो चलचित्रको पोनिङ पनि सुखद रहेन । ५० लाख पनि ओपनिङ गर्न सकेन । त्यसैले इनिसियल बिजनेस राम्रो हुन सकेन । तर, यो चलचित्रले पिकअप लिने समय भने बाँकी नै छ ।
‘राम नाम सत्य’लाई माइकल चन्द, ‘पहाड’लाई तुलसी घिमिरे र ‘परालको आगो’लाई लक्ष्मण सुनारले निर्देशन गरेका थिए । चन्दको यो डेब्यु निर्देशन थियो । तुलसी घिमिरे लिजेन्ड भइगए । लक्ष्मण सुनार पनि अनुभवी निर्देशक थिए । तर, नयाँ हुन् वा लिजेन्ड अथवा अनुभवी कसैले पनि पनि बक्सअफिसलाई गति दिन सकेनन् ।
त्यसैले यो वर्षको सुरुवात राम्रो हुन सकेन । नयाँ वर्षले सिनेमालाई राम्रो स्वागत हुन सकेन भन्न सकिन्छ । गत वर्ष ५७ वटा चलतित्र प्रदर्शन हुँदा एक अर्ब ८ करोड ग्रसकलेक्सन भएको थियो । यो वर्षको बजार कस्तो हुन्छ, त्यो भने हेर्न बाँकी छ ।
यो वर्ष ब्रान्ड भ्यालु भएका निर्देशक र उनीहरुका चलेका सिक्वेलका चलचित्र रिलिज हुने भएकाले गत वर्षको व्यापारलाई उछिन्छ कि भन्ने आशा भने छ । ‘कबड्डी’, ‘छक्का पञ्जा’, ‘आ बाट आमा’, ‘छ माया छपक्कै’ जस्ता सफल सिनेमाका सिरिज आउने भएकाले यो वर्षको करोबार धेरै हुनेमा धेरैको विश्वास छ ।




